नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई स्वाभाविक रूपमा लिँदै लडेको ठाउँबाट फेरि उठेर दुईतिहाइको लक्ष्यमा पुग्न सकिने बताएका छन्।
सानातिना कुरा र इगो त्यागेर फराकिलो सोचका साथ अघि बढे पार्टीको महान् उद्देश्य पूरा हुने उनले दाबी गरे।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
हाल पार्टीले व्यहोरेको धक्काबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले पुनरागमनको संकल्प गरे।विगतमा पार्टी ‘दुई–तिहाइ’ को नजिक पुगेको स्मरण गर्दै उनले त्यो नै अन्तिम गन्तव्य नभएको स्पष्ट पारे। "हाम्रो पार्टी महान् उद्देश्यका साथ अघि बढिरहेको छ। हामी दुई-तिहाइको अवस्थामा पुगेका थियौँ, तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन," ओलीले भने, "त्यसैले सानातिना कुरा, इगो र अनावश्यक विवादमा नअल्झी फराकिलो सोचका साथ अघि बढौँ।"
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्यलाई आत्मसात् गर्न सके मात्रै लडेको ठाउँबाट फेरि उठ्न सक्षम हुने बताए। त्यसका लागि पार्टीभित्र ‘रियलाइजेसन’ (बोध) को आवश्यकता रहेको उनको भनाइ थियो। रियलाइजेसन भनेको केवल आत्मालोचना मात्र नभई विवेक, कर्तव्य, अनुशासन र ज्ञानको समग्र स्वरूप भएको उनले जिकिर गरे।
अध्यक्ष ओलीले आफू को हौँ, आफ्नो उद्देश्य र जिम्मेवारी के हो भन्ने बुझाइ सबै तहका नेताहरूमा हुनुपर्नेमा जोड दिए। उनले नवनियुक्त सदस्यहरूलाई पार्टीको जिम्मेवारी बोध गर्दै दत्तचित्त भएर जनताको काममा लाग्न निर्देशन समेत दिएका छन्। (न्युज एजेन्सी नेपाल)
प्रकाशित: १६ आश्विन २०८३ २१:०७ शुक्रबार





