२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

ममाथि देखाएको विश्वास, माया र भरोसाले मलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ : महामन्त्री शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा नियुक्त भएपछि भूपदेव शाहले यसलाई आफ्नो जीवनको अत्यन्तै गौरवपूर्ण र ऐतिहासिक उपलब्धि बताएका छन्। सोमबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्री पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

जिम्मेवारी सम्हाल्दै शाहले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज मेरो लागि अत्यन्तै गौरवपूर्ण र ऐतिहासिक दिन बनेको छ। पार्टीको केन्द्रीय समितिले मलाई महामन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा मनोनयन गर्नु भएकोमा म हृदयदेखि नै आभारी छु।’ उनले पार्टीले आफूमाथि देखाएको विश्वास, माया र भरोसाले थप जिम्मेवार र प्रतिबद्ध बनाएको उल्लेख गरे।

शाहले अगाडि भने, ‘मैले पाएको यो गरिमामय जिम्मेवारीलाई पूर्ण इमान्दारिता, निष्ठा र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई आत्मसात गर्दै संगठनलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउने दिशामा निरन्तर सक्रिय रहनेछु।’

शाहले निर्वाचनमा पार्टीले पाएको जनमतको सम्मान गर्दै जनताका अपेक्षा र सुशासनका मूल्यहरूलाई व्यवहारमा उतार्न आफू निरन्तर प्रयासरत रहने बताएका छन्। उनले सबै तहका नेता र सदस्यहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए।

रास्वपामा शाहको आगमनसँगै अब तीन जना महामन्त्री भएका छन्। यसअघि नै कवीन्द्र बुर्लाकोटी र सुनिल लम्साल पनि महामन्त्रीको रूपमा कार्यरत थिए। बैठकले शाहका साथै अन्य विभिन्न पदमा पनि मनोनयन र अनुमोदन गरेको थियो। साथै, पार्टीको सांगठनिक र प्रशासनिक खर्च व्यवस्थापनका लागि रास्वपाले आफ्ना जनप्रतिनिधिले बुझाउनुपर्ने मासिक लेबी रकममा पनि परिमार्जन गरेको छ।

प्रकाशित: ८ वैशाख २०८३ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App