नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र मै हुँ, मबाहेक अरू कोही सक्षम छैन भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम नागरिक फ्रन्टलाइनका लागि बुधबार प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा महतले पार्टीमा महामन्त्रीलगायत केही नेताले आफूलाई मात्र केन्द्रमा राखेको गुनासो गर्दै यस्तो बताएका हुन्।
पार्टीमा मै मात्र ठिक हुँ भन्ने भाष्य निर्माण गर्न खोज्नु राम्रो नहुने बताउँदै महतले भने, ‘फलानो नै एकदम योग्य हो, म आए मात्र जादु हुन्छ र समस्याको समाधान हुन्छ भन्ने प्रवृत्ति ठिक होइन। व्यक्तिवादी प्रवृत्तिले पार्टीलाई बलियो बनाउँदैन। पार्टीको कुरा गर्नेभन्दा पनि आफ्नो कुरा गर्ने बानी बढी देखियो।’
कांग्रेस महाधिवेशनमा तपाईंको भूमिका के हुन्छ भन्ने प्रश्नमा महतले आफू नेतृत्वका लागि सक्षम रहेको र चाहना राखेको स्पष्ट पारे। ‘मेरो पनि चाहना छ। म हरकिसिमबाट दाबी गर्न सक्छु’, उनले भने, ‘अहिले जुन जेनेरेसन ग्यापको कुरा उठिरहेको छ, त्यसलाई ब्रिज गर्ने र सबैलाई मिलाएर लैजाने क्षमता म राख्छु। नयाँदेखि पुरानो पुस्तासम्मलाई जोड्ने आवश्यकता छ र त्यो भूमिका म निर्वाह गर्न सक्छु।’
आमनिर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने नीति लिने संकेत गर्दै महतले भने, ‘अहिलेको परिस्थितिले हामीलाई केही बाध्यता सिर्जना गरे पनि आमनिर्वाचनको हकमा हामी आफ्नै बलमा, एकल रूपमा लड्नुपर्छ भन्नेमा छौं।’
प्रकाशित: १७ पुस २०८२ १०:५४ बिहीबार





