नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीका नेतृत्वमा मौलाएको प्रवृत्तिले कम्युनिष्टको सत्तो हराएको बताएका छन्।
मङ्गलबार (आज) काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा 'वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन' विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका छन्।
'विस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो। नेतृत्वमा पनि जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो। त्यो प्रवृत्तिले कम्युनिष्टको सत्तो हराएको छ,' उनले भने।
शर्माले कम्युनिष्ट पार्टीभित्र प्रश्न र आलोचनाहरूको आफ्नो महत्त्व रहेको बताए। तर, नेपालका कम्युनिष्ट पार्टीहरूमा प्रश्न र आलोचनाका लागि ठाउँ नरहेको उनले बताए। 'कम्युनिष्ट पार्टीहरूभित्र आलोचना, प्रश्नहरूको भूमिका हुन्छ, महत्त्वपूर्ण हुन्छ। आलोचना महत्त्वपूर्ण शिक्षाहरू हुन्। कम्युनिष्ट पार्टीभित्र प्रश्नहरू सुन्न पनि तयार भइँदैन,' उनले भने।
प्रकाशित: ६ श्रावण २०८२ १४:५७ मंगलबार

