नेकपा एमालेका नेता विष्णु रिजालले गगन थापा कानुनी रूपमै नेपाली कांग्रेसको सभापति बनेको बताएका छन्।
उनले राजनीतिक रूपमा दुई महिनाअघि नै थापा सभापति बनेको बताउँदै सर्वोच्च अदालतको निर्णयपछि अब सभापतित्वमाथि प्रश्न नरहेको उल्लेख गरे। रिजालले नेतृत्व अटेरी, वृद्ध, सत्ता–स्वार्थमा केन्द्रित, पारिवारिक मोहबाट ग्रस्त र वरिपरि बस्नेहरूको जी–हजुरीमा मख्ख भइरह्यो भने एउटा जीवन्त पार्टीमा के हुन्छ भन्ने कांग्रेसमा देखिएको बताए।
उनले नेतृत्व वरिपरि रहनेहरूको जी–हजुरीमा रमाउने प्रवृत्तिले जीवन्त पार्टीलाई कमजोर बनाउने भनाइ राख्दै भने, 'गगन थापाजी कानुनी रुपमा पनि नेपाली कांग्रेसको सभापति बन्नुभएको छ। राजनीतिक रूपमा दुई महिनाअघि नै सभापति बने पनि सर्वोच्च अदालतले समेत वैधानिकता दिएपछि उहाँको सभापतित्वमाथि अब प्रश्न रहेन। नेतृत्व अटेरी, वृद्ध, सत्ता–स्वार्थमा केन्द्रित, पारिवारिक मोहबाट ग्रस्त र वरिपरि बस्नेहरुको जी–हजुरीमा मख्ख भइरह्यो भने एउटा जीवन्त पार्टीमा के हुन्छ भन्ने कांग्रेसमा देखिएको छ।'
रिजालले प्रजातन्त्र र कानुनी शासन मान्ने पार्टी भएकाले यसबाट कांग्रेस विभाजन हुनुपर्ने कारण नदेखिएको बताए। उनले भने, 'तर आफ्नो राजनीतिक जीवन निस्क्रिय पारेर राजनीतिबाट बिदा लिनुको साटो केही वृद्धहरूको मनमा एउटा छुटै क्लब बनाऔँ भन्ने भावना आएछ भने अर्को ‘प्रजातान्त्रिक कांग्रेस‘ बनाउनका लाागि पनि बाटो खुल्ला भएको छ।'
प्रकाशित: ५ वैशाख २०८३ १३:१२ शनिबार





