वन व्यवस्थापनका सवाल सम्बोधन गर्न गठित कार्यदलले सुझावसहितको प्रतिवेदन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको छ। प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्ट नेतृत्वको कार्यदलले आइतबार मुख्यमन्त्री शाहलाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शाहले मुलुक तथा प्रदेशका विद्यमान नियम–कानुन र कार्यक्षेत्रभित्र रही प्रतिवेदनमा समेटिएका सुझावहरू व्यवहारिक रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले दिगो वन व्यवस्थापनका विषयमा सरोकारवालासँगको छलफल र परामर्शका अगाडी बढ्ने र वनक्षेत्रको काठ दाउरा बिक्री–वितरण पारदर्शिता र प्रभावकारी बनाउन आवश्यक रणनीति लिइने पनि बताए।
यसअघि वन उपभोक्ता समितिको प्रदेश स्तरीय आन्दोलन परिचालन समन्वय समितिले विभिन्न २५ बुँदे माग पत्र प्रदेश सरकारलाई बुझाएको थियो। सरकारले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न कात्तिक २८ मा निर्देशक विष्टको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो। वन उपभोक्ता समितिमा २५ मागबारे विभिन्न १२ पृष्ठको सुझावसहितको प्रतिवेदन मुख्यमन्त्री शाहलाई बुझाएको वन निर्देशक विष्टले बताए।
प्रकाशित: २१ मंसिर २०८२ १६:२० आइतबार

