१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

बाँदर समस्या समाधान गर्न ‘विद्युतीय बार’ लगाउनु पर्छ, मार्नु हुँदैन: सांसद तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कृषि क्षेत्रमा मुख्य समस्याका रूपमा देखिएको बाँदर आतंक नियन्त्रणका लागि जनावर मार्ने नभई आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन्।

बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाँदर र बँदेल जस्ता वन्यजन्तुको स्थायी व्यवस्थापनका लागि ‘इलेक्ट्रिक फेन्सिङ’ (विद्युतीय बार) दीर्घकालीन समाधान भएको बताइन्।

सांसद तामाङले परापूर्वकालदेखि प्रयोग हुँदै आएका बाँदर तर्साउने, पटाका पड्काउने वा पुत्ला बनाउने जस्ता उपायहरू प्रभावहीन भइसकेको उल्लेख गरिन्।

‘जनावरलाई मारेर समस्या समाधान हुँदैन, यसले अर्को जटिलता ल्याउँछ,’ उनले भनिन्, ‘मुख्य समाधान भनेको सौर्य ऊर्जाबाट चल्ने कम भोल्टेजको विद्युतीय तारबार हो, जसले जनावरलाई नमार्ने तर एक पटक झड्का लागेपछि पुनः त्यहाँ आउन नसक्ने गरी तर्साउने काम गर्छ।’

आफू १५ वर्ष जर्मनीमा रहँदा त्यहाँका आधुनिक व्यवस्थापनका विधिहरू नजिकबाट नियालेको अनुभव सुनाउँदै उनले नेपालको भौगोलिक अवस्था अनुसार यो प्रविधि निकै प्रभावकारी हुने दाबी गरिन्।

नेपालको पहाडी भेग मात्र नभई तराई र भित्री मधेसका टारहरूमा यो प्रणाली सुरु गर्न सकिने उनको भनाइ छ। विशेषगरी ठूला फाँटहरूमा विद्युतीय घेराबार गरी बालीनालीको सुरक्षा गर्न सकिने उनले बताइन्।

उनले वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई सन्तुलनमा लैजानुपर्नेमा जोड दिँदै भनिन्, ‘यो धर्तीमा मान्छे जति महत्वपूर्ण छ, बाँदर र अन्य जनावर पनि उत्तिकै महत्वपूर्ण छन्। उनीहरूलाई पनि बाँच्ने अधिकार छ। तर, कृषकको बालीनाली पनि जोगाउनु छ। त्यसैले मार्ने विकल्प होइन, व्यवस्थापनको बाटो रोज्नुपर्छ।’

पछिल्लो समय काभ्रे लगायतका जिल्लामा बँदेलको आक्रमणबाट मानवीय क्षतिसमेत भइरहेको सन्दर्भमा यो विषय झन् गम्भीर बनेको उनले उल्लेख गरिन्।

बाँदर समस्या समाधानका लागि सरकारले पनि ठोस पहल सुरु गरेको जानकारी दिँदै सांसद तामाङले प्रधानमन्त्रीले विज्ञहरूसँग परामर्श गरिरहेको बताइन्।

‘त्रिचन्द्र कलेजका प्राध्यापकहरूले यस विषयमा अध्ययन गरिरहनुभएको छ,’ उनले भनिन्, ‘सरकारले विज्ञहरूको सुझावका आधारमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कार्ययोजना अघि बढाएको छ।’

सांसद तामाङले कतिपयले बाँदरको बन्ध्याकरण वा अन्य उपायका कुरा गरे पनि प्रविधिको प्रयोग नै सबैभन्दा किफायती र प्रभावकारी हुने तर्क गरिन्। उनले संसद्मा समेत यस्ता जनजीविकाका सवालहरूलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: ६ जेष्ठ २०८३ १६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App