उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनले उठाएका मूल माग र जनताले दिएको म्याण्डेटप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
जेनजी युवाहरूले तत्कालीन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा, सुशासन कायम, भ्रष्टाचार अन्त्य तथा राज्यका हरेक निकायमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेलगायतका माग राख्दै गत वर्ष भदौ २३ र २४ गते गरेको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा घिसिङले यस्तो बताएका हुन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते भई अङ्गभङ्ग भएका तथा शारीरिक र मानसिक पीडा भोगिरहेका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
'तत्कालीन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र राज्यका हरेक निकायमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेलगायतका माग राख्दै जेनजी युवाहरूले गत वर्ष भदौ २३ र २४ गते गरेको ऐतिहासिक विद्रोहले आज एक वर्ष पूरा गरेको छ,' उनले भनेका छन्, 'उक्त आन्दोलनका क्रममा आफ्नो ज्यान गुमाउने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।'
घिसिङले जेनजी आन्दोलन केवल सरकार परिवर्तनका लागि नभई राजनीतिक संस्कार र शासनशैली परिवर्तन, सुशासन, जवाफदेहिता, भ्रष्टाचारमुक्त शासन तथा युवाको सम्मानजनक सहभागिताका लागि उठेको पुस्ताको आवाज भएको बताए.
उनका अनुसार आन्दोलनपछि गठन भएको सरकारले गत फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराएर राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउने महत्वपूर्ण काम गरे पनि आन्दोलनको म्याण्डेटअनुसार झण्डै दुईतिहाइ जनमत प्राप्त सरकारले अपेक्षाअनुसार परिणाम दिन सकेको अनुभूति हुन सकेको छैन। सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै यथावत् रहेको घिसिङको भनाइ छ।
'जेनजी आन्दोलनको म्याण्डेटअनुसार झण्डै दुईतिहाइ जनमत प्राप्त सरकारले अपेक्षाअनुसार परिणाम दिएको अनुभूति हुन सकेको छैन। सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै यथावत् छन्,' उनले भने।
उनले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्ने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी सिर्जना गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा पूर्वाधार विस्तार र सुदृढीकरणमार्फत समृद्धिको आधार तयार गर्ने कामले अपेक्षित गति लिन नसकेको बताएका छन्।
'अब केवल भाषण, घोषणा र राजनीतिक नाराले पुग्दैन। जेनजी पुस्ताले सडकमा बगाएको रगत, गुमाएको जीवन र उठाएको आवाजको सम्मान परिणामबाट हुनुपर्छ,' घिसिङले भने।
उनले जनताले खोजेको परिवर्तन शासन गर्ने व्यक्तिको मात्र नभई शासन गर्ने संस्कार, प्रणाली र कार्यशैलीको परिवर्तन भएको बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा उज्यालो नेपाल पार्टीले सरकारलाई आन्दोलनका मूल माग तथा जनताले दिएको म्याण्डेटप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएको घिसिङले बताएका छन्। पार्टीले सरकारका हरेक निर्णय र कामकारबाहीमा निरन्तर खबरदारी, प्रश्न, निगरानी तथा आवश्यकताअनुसार रचनात्मक दबाब सिर्जना गर्ने उनले बताएका छन्।
सुशासन, समृद्धि, सामाजिक न्याय र अवसरमा समान पहुँचसहितको नयाँ नेपाल निर्माणको अभियानमा उज्यालो नेपाल पार्टी दृढतापूर्वक उभिने घिसिङको भनाइ छ।
'जेनजी आन्दोलनको बलिदान केवल इतिहास बन्नु हुँदैन–त्यसको म्याण्डेट राज्य सञ्चालनको मार्गदर्शन बन्नुपर्छ,' उनले भने।
प्रकाशित: २३ भाद्र २०८३ ०८:४२ मंगलबार





