६ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

जनविश्वास बचाइराख्न नीति रास्वपाकाे हुनुपर्छ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनबाट रास्वपाले कस्तो नीति र नेतृत्व चयन गर्छ र गर्नुपर्छ भन्ने विषयमा जिल्लास्थित नागरिककर्मीहरूले विभिन्न जिल्लाका नेता, महाधिवेशन प्रतिनिधि र कार्यकर्तासँग कुरा गरेका छन् । प्रस्तुत उनीहरूको धारणा:

एकताको सन्देश दिनुपर्छ

विवेककुमार श्रेष्ठ, सभापति, बाँके

विवेककुमार श्रेष्ठ

महाधिवेशनले एकताको सन्देश दिनुपर्छ। पार्टीलाई जीवन्त बनाइराख्न वर्तमान पार्टी सभापति रवि लामिछानेलाई नै नेतृत्वमा निरन्तरता दिनुपर्छ। अरु पदहरूमा पनि सहमतिका साथ टुंगो लगाउनुपर्छ। किनकी हाम्रो पार्टीप्रति जनताको विश्वास धेरै नै छ। हामीले महाधिवेशनलाई विवादरहित ढंगले टुंगोमा पुर्‍याउनुपर्छ।

जनविश्वास जोगाउन जरुरी

राजकुमार सुवेदी, केन्द्रीय प्रतिनिधि

राजकुमार सुवेदी

पार्टीको ऐतिहासिक महाधिवेशनले सुशासन, पारदर्शिता, युवा नेतृत्व, महिला सहभागिताको नीतिलाई अगाडि सार्नुपर्छ। रास्वपा लोकतान्त्रिक पार्टी हो। यस हिसाबले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन गरिनुपर्छ। पार्टीको नीति जनपक्षिय हुनुपर्यो। जनताले गरेको विश्वासलाई कायम राख्न जरुरी छ।

महाधिवेशन निर्विवाद हुन्छ

ईश्वरी लामिछाने, 

उपसभापति, बाँके

ईश्वरी लामिछाने

महाधिवेशन निर्विवाद रुपमा सम्पन्न हुनेमा हामीलाई पूर्ण विश्वास छ। जनताले विश्वास गरेर प्रतिनिधिसभामा दुई तिहाइ नजिकको बहुमत हामीलाई दिएका छन्। यो जनविश्वासलाई बचाइराख्ने नीति पार्टीले अवलम्बन गर्नुपर्छ। देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न पार्टीले दीर्घकालीन नीति अपनाउनुपर्छ। पार्टीको नीतिअनुसार नै सरकारले जनताका हकहितका निम्ति काम गर्नुपर्छ।

सक्षम नेतृत्व आउनुपर्छ  

नवीन खड्का

सभापपि, नेपालगन्ज उपमहानगर

नवीन खड्का

महाधिवेशनबाट सक्षम नेतृत्व आउनुपर्छ। देश अब पहिलाको जस्तो गरी चल्न सक्दैन। जान्नेलाई छान्ने भनेजस्तै पार्टीलाई सक्षम रुपले हाँक्न सक्ने नेतृत्व चयन गर्नुुपर्छ। सर्वसम्मत रुपमा नेतृत्व निर्वाचित गर्न आवश्यक छ। जनताको हितका निम्ति काम गर्न सक्ने सक्षम व्यक्तिले पार्टीको नेतृत्व गर्नुपर्छ। देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सक्ने नेतृत्व आवश्यक छ।

रास्वपाप्रति जनभरोसा छ

फारुक गुजर

सहसचिव, बाँके

फारुक गुजर

नेपाली जनताको रास्वपाप्रति अपेक्षा र भरोसा छ। जनताले जुन अपेक्षा गरेका छन्, त्यहीअनुसार पार्टीको नेतृत्व आउनुपर्छ। सक्षम नेतृत्वले पार्टीलाई चलायमान बनाउन सक्छ। विधान, लोकतान्त्रिक अभ्यास, प्रक्रिया अनुसार पार्टीलाई चलाउनुपर्छ। महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरी जनतासामु सकारात्मक सन्देश दिनुपर्छ। पार्टीले जनसहभागितामूलक कार्यक्रम तय गरी जनतासँग हातेमालो गर्नुपर्छ ।  किनकी जनताकै मायाले पार्टी चल्छ।

रवि नै सर्वस्वीकार्य हुनुपर्छ

नवीन त्रिपाठी

सभापति, गण्डकी

नवीन त्रिपाठी

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको मर्मअनुसार भ्रष्टाचारप्रति शून्य सहनशीलता भएको र जवाफदेही नेतृत्व आवश्यक छ। पदअनुसार सबैले जिम्मेवारी बोध गर्नुपर्छ। परिणाम दिन सक्ने नेतृत्व र नीति हुनुपर्छ। नेतृत्व तह समावेशी पनि हुनुपर्छ। जेनजी आन्दोलनको मर्मलाई बुझेर अघि बढ्नुपर्छ। अहिलेका लागि पुरै नयाँ नेतृत्व आउनु पर्दैन। पार्टी सभापतिमा रवी लामिछाने नै अहिलेका लागि सर्वस्वीकार्य भएकाले उनको विकल्प खोज्न जरुरी छैन।

पुरानैलाई काम दिनुपर्छ

पवित्रा थापा

प्रतिनिधि, गण्डकी

पवित्रा थापा

देशलाई गति दिने नीति महाधिवेशनले तय गर्नुपर्छ। अहिलेको अवस्थामा आर्थिक समुन्नति नै आवश्यक छ। देश सुहाउँदो भौतिक संरचना बनाउने नीति पनि आवश्यक छ। नागरिकको दैनिकीमा सहजता ल्याउने खालको नीति पनि आवश्यक पर्छ। जनताको गाँस, बास र कपास सुनिश्चित गर्न सक्नुपर्छ। अहिले नयाँ नेतृत्व आउनु पर्दैन। पुरानै नेतृत्वलाई दोहो¥याएर काम गर्न दिनुपर्छ। केही पदमा परिवर्तन पनि गर्न सक्नुपर्छ। सबै नेताको कार्यसम्पादन मूल्यांकन हुनुपर्छ।

नेतृत्वको विकल्प छैन

अशोक खड्का

प्रतिनिधि, गण्डकी

अशोक खड्का

लामो समयको संघर्षपछि वैकल्पिक राजनीतिको रूपमा रास्वपा उदाएको छ। रास्वपासँग नागरिकको अपेक्षा छ। अहिलेको सरकारसँग पनि जनताको उत्तिकै अपेक्षा छ। जनताको अपेक्षा र उकुसमुकुसलाई निकास दिनेगरी सेवा प्रवाहमा सरकारले ध्यान दिनुपर्छ। एकअर्कालाई दोषारोपणभन्दा पनि नेतृत्वले नागरिकको समस्या सम्बोधन गर्नुपर्छ। अहिले नै सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विकल्प खोज्दा अराजनीतिक हुन्छ। जनताले रवि र बालेन्द्रलाई देखेर नै मत दिएका हुन। सभापति र वरिष्ठ नेताभन्दा तलको पदमा प्रजातान्त्रिक मूल्य अनुसार अघि बढ्नुपर्छ।

नेतृत्वमा रवि नै बस्नुपर्छ

पूजा बाँस्तोला

प्रतिनिधि, गण्डकी

पूजा बाँस्तोला

मेरो विचारमा अहिलेका लागि नेतृत्व रवि लामिछानेले नै लिनुपर्छ। किनभने रास्वपाको जग लामिछानेले नै बसालेका हुन्। जेनजी आन्दोलनको मागअनुसार भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्छ। युवालाई समेटेर अघि बढ्नुपर्छ। केन्द्रीय समिति समावेशी पनि हुनुपर्छ। सुशासनमा पार्टीले जोडबल दिनुपर्छ।

उदार अर्थतन्त्र चाहिन्छ

उत्तम पौडेल

प्रतिनिधि, गण्डकी

उत्तम पौडेल

रास्वपालाई बलियो बनाउने रवि लामिछाने हुन्। उनको सपना साकार बनाउनुुपर्ने बेला भएको छ। त्यसैले अहिलेका लागि पुुरानै नेतृत्व नै काफी छ। नेतृत्वले राम्रोसँग काम गर्न पाएको छैन। त्यसैले फेरि पनि काम गर्न दिनुपर्छ। लोकतन्त्रमा आकांक्षा राख्नु नराम्रो होइन। तर दलभित्र योगदानको कदर हुनुपर्छ। योगदान दिएका व्यक्तिको मूल्यांकन हुनुपर्छ। अबको नीति उदार अर्थतन्त्रसहितको हुनुपर्छ। पुराना दलले पनि नीतिगत तहमा त राम्रो कुरा गरेका थिए। तर कुराअनुसार काम हुन सकेन।

उत्तरदायी नेतृत्व चुनिनुपर्छ

सुदिप प्रजापति

सचिव, पर्सा

सुदिप प्रजापति

पार्टीलाई अझ संस्थागत, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने नेतृत्व चयन हुनुपर्छ। युवाशक्ति, क्षमता र इमानदारीलाई प्राथमिकता दिने नेतृत्वले संगठनलाई थप बलियो बनाउने विश्वास छ। जनताको भरोसालाई कायम राख्दै भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने र समृद्ध नेपालको मार्गचित्र प्रस्तुत गर्ने नीति तथा नेतृत्व महाधिवेशनबाट खोजेको छु।

पार्टी एकढिक्का हुनुपर्छ

हरि पन्त

सभापति, पर्सा

 

समग्र मुलुकलाई जोड्न सक्ने नीति र पार्टीलाई एकढिक्का बनाउन सक्ने नेतृत्व महाधिवेशनबाट आउनुपर्छ। पार्टीमा सक्रिय नेता र कार्यकर्ताको कदर गर्न सक्ने नेतृत्व आवश्यक छ। महाधिवेशनपछि आउने नेतृत्वले पार्टीका नेता र कार्यकर्तासँगै आमनेपालीको भावना बुझेर काम गर्नुपर्छ।

यही नेतृत्वलाई निरन्तरता

रामाकान्त चौरसिया

सांसद, पर्सा–३

महाधिवेशनबाट अहिलेकै कार्यसमितिलाई नै निरन्तरता दिनुपर्छ। अहिलेको कार्यसमितिले नेपाली जनताको भावनाअनुसार नै काम गरेका कारणले निर्वाचनमा पार्टीलाई करिब दुई तिहाइ बहुमत मिलेको छ। अहिलेको नेतृत्वमा केही कमीकमजोरी भए सच्याएर अगाडि बढ्दा पार्टी र देश दुवैका लागि राम्रो हुन्छ।

राष्ट्रहितलाई केन्द्रमा राखौं

केशव बलायर

सभापति, डोटी

केशव बलायर

पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनले जनताको आवश्यकता र राष्ट्रको हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्छ। नीति स्पष्ट, व्यावहारिक, पारदर्शी र समयानुकूल हुनुपर्छ, जसले समाजका सवै वर्ग र क्षेत्रलाई समेट्दै समान अवसरको सुनिश्चितता गर्न सकोस्। महाधिवेशनबाट आउने नेतृत्व इमानदार, जवाफदेही, दूरदर्शी र जनमुखी हुनुपर्छ। नेतृत्वले पद र शक्ति भन्दा सेवा र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ। असल नीतिबिना समृद्धि सम्भव छैन।

एकताको सन्देश देओस्

नितेश जोशी

सदस्य, सुदूरपश्चिम प्रदेश समिति

नितेश जोशी

रास्वपा प्रथम माहाधिवेशन सहमति र सकारात्मक संकल्पका साथ सम्पन्न हुनुपर्छ। महाधिवेशनले एकता र रुपान्तरणको सन्देश देओस्। रास्वपा पार्टी मात्र नभई एउटा विचार हो र यसको महत्त्व दूरगामी छ। महाधिवेशनले सबैको सम्मान, व्यवस्थापन र नयाँ ऊर्जा थप्नेछ भन्नेमा विश्वस्त छु।

नेतृत्व समावेशी हुनुपर्छ

हेमराज जोशी

सदस्य, सुदूरपश्चिम प्रदेश समिति

हेमराज जोशी

महाधिवेशनबाट इमानदार, पारदर्शी, दुरदर्शी नेतृत्व चयन गर्नुपर्छ। जसले पार्टी संगठनलाई सन्तुलन बनाएर अगाडि बढाउन सकोस्। नेतृत्व चयन गर्दा समाबेशी पनि हुनुपर्छ। युवा महिला र पिछडिएका वर्गलाई पहिलो प्राथमिकता राखेर पदाधिकारी तथा केन्द्रीय सदस्यमा ल्याउनुपर्छ। महाधिवेशनले डिजिटल प्रविधिसँग जनतालाई जोड्ने नीति ल्याउनुपर्छ। शिक्षा, स्वास्थ र रोजगारीकेन्द्रित नीति आवश्यक छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई प्रोत्साहन र सहयोग पुग्ने नीति  

पार्टीले बनाउनुपर्छ।

समान अवसर होस्  

प्रदिप विष्ट

सभापति, जोरायल गाउँपालिका, डोटी

प्रदिप बिष्ट

जनताको आवश्यकता र राष्ट्रको हितलाई केन्द्रमा राखेर महाधिवेशनले नीति निर्माण गर्नुपर्छ। नीति स्पष्ट, व्यावहारिक, पारदर्शी र समयअनुकूल हुनुपर्छ, जसले समाजका सबै वर्ग र क्षेत्रलाई समेट्दै समान अवसरको सुनिश्चितता गर्न सकोस्। नेतृत्व इमानदार, जवाफदेही, दूरदर्शी र जनमुखी हुनुपर्छ। नेतृत्वले पद र शक्तिभन्दा सेवा र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ। जनताको आवाज सुन्ने, समस्या बुझ्ने र समाधानका लागि दृढतापूर्वक काम गर्ने नेतृत्व नै सफल नेतृत्व हो।

सुशासनमा जोड दिनुपर्छ

गणेशराज ओझा

सभापति, सायल गाउँपालिका, डोटी

गणेशराज ओझा

महाधिवेशनले सुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्छ। नेतृत्वमा युवाको सहभागिता बढाउनुपर्छ। जनताको अपेक्षा अनुसार कार्यक्रम तय गर्नुपर्छ। शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य अजेन्डा बनाउनुपर्छ। फरक विचारलाई सम्मान गर्नुपर्छ। पदलाई अधिकार होइन, जिम्मेवारीका रूपमा लिनुपर्छ। महाधिवेशनले पार्टीमा एकता, विश्वास र उत्साह बढाउनुपर्छ। संगठन र देशको हितलाई व्यक्तिगत स्वार्थभन्दा  

माथि राख्नुपर्छ।

कार्यकर्ताको भावना बुझौं

डिल्लीराज भट्ट

सहसचिव, डोटी

डिल्लीराज भट्ट

संगठनलाई निजी सम्पत्ति होइन, साझा जिम्मेवारीका रूपमा बुझ्ने, कार्यकर्ताको योगदानको सम्मान गर्न सक्ने, आलोचनालाई स्वीकार गर्न सक्ने र सबैलाई साथमा लिएर अघि बढ्न सक्ने नेतृत्व महाधिवेशनले दिनुपर्छ। संगठनका लागि योगदान दिने व्यक्तिहरूको मूल्यांकन हुनुपर्छ। नेतृत्वको आधार पहुँच, शक्ति वा गुट होइन, क्षमता, इमानदारी, त्याग र कार्यकर्ताको विश्वास हुनुपर्छ। महाधिवेशनले नीतिगत रूपमा पनि स्पष्ट सन्देश दिनुपर्छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन, पारदर्शिता, जवाफदेहिता, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण र समतामूलक विकासलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्ययोजना आवश्यक छ

स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ

जानिका जोशी

सदस्य, केन्द्रीय जनसम्पर्क विभाग

जानिका जोशी

संगठनभित्र लोकतान्त्रिक संस्कारको विकास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। फरक विचारलाई दुश्मनको रूपमा होइन, सुधारको अवसरका रूपमा हेर्ने वातावरण बन्नुपर्छ। स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ तर त्यसले संगठनलाई विभाजित गर्ने अवस्था आउनु हुँदैन। महाधिवेशनपछि जित्ने र हार्ने होइन सबै मिलेर पार्टीलाई जिताउने संस्कार स्थापित हुनुपर्छ। महाधिवेशनको सफलता कसले कुन पद प्राप्त गर्‍यो भन्ने कुराले होइन, संगठन कति बलियो बन्यो, कार्यकर्ताको मनोबल कति बढ्यो र जनताको विश्वास कति जित्न सक्यो भन्ने कुराले मापन हुन्छ। महाधिवेशनले व्यक्तिभन्दा नीति, महत्त्वाकांक्षाभन्दा संगठन र पदभन्दा योगदानलाई प्राथमिकता दिने साहसिक निर्णय गर्नुपर्छ।

नेतृत्व सर्वसम्मत हुनुपर्छ

झनक खनाल

सदस्य, सुदूरपश्चिम प्रदेश समिति

झनक खनाल

देशको आवश्यकता भनेको सुशासन र संवृिद्ध हो। सुशासन र सवृद्धिको लक्ष प्राप्त गर्न सकभर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्छ। सबै मिलेर देश बनाउनु पर्छ। सबै भूगोलबाट सबैलाई समेटेर सहमतिका आधारमा नेतृत्व चयन गर्नु सबैभन्दा राम्रो हुन्छ।

युवा नेतृत्व चाहिन्छ

सम्झना पण्डित

प्रतिनिधि, कोसी प्रदेश

सम्झना पण्डित

रास्वपा अन्यभन्दा फरक अवधारणा भएको पार्टी हो। महाअधिवेशनले युवा वर्गलाई नेतृत्व तहमा पुर्‍याओस् भन्ने अपेक्षा छ। सक्षम, पारदर्शी नेतृत्वलाई महाधिवेशनले अघि बढाउँछ भन्ने लागेको छ। नेतृत्वमा समावेशी रुपमा पछाडि पारिएका, अल्पसंख्यक र महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ।

सक्षम नेतृत्व चुन्नुपर्छ

बुलबुल यादव

प्रतिनिधि, मोरङ

बुलबुल यादव

अन्य पार्टीभन्दा रास्वपाको नेतृत्व फरक किसिमको हुनुपर्छ। राष्ट्रहितमा काम गर्न सक्ने, समृद्धि र सुशासन कायम गर्न सक्ने सक्षम नेतृत्व आवश्यक छ। देशमा बिग्रिएको प्रणालीलाई सुधारेर लैजान सक्ने नेतृत्वको खाँचो छ। जनचाहना अनुसारको सक्षम नेतृत्व चयन गर्न महाअधिवेशन सफल हुनेमा विश्वस्त छु।

अहिलेकै नेतृत्व दोहोरिनुपर्छ

नितेशकुमार साह

प्रतिनिधि, मोरङ

नितेशकुमार साह

रास्वपा स्थापना गरी यसलाई अहिलेको अवस्थामा पुर्‍याउने सभापति रवि लामिछानेकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ। नेतृत्व बदल्ने बेला भएको छैन। अहिलेकै नेतृत्वलाई नयाँ कार्यकालका लागि निरन्तरता दिनुपर्छ। पार्टी नीति समावेशी र युवामैत्री हुनुपर्छ।

एक व्यक्ति एक पद हुनुपर्छ

वीरेन्द्रकुमार साह

प्रतिनिधि

वीरेन्द्रकुमार साह

अरु पार्टीभन्दा हामी फरक हौं भन्दै आएको रास्वपा महाधिवेशनले एक व्यक्ति एक पदलाई स्थापित गर्नुपर्छ। मन्त्री, सांसद भएका व्यक्तिहरूभन्दा कुनै पदमा नभएकाहरू केन्द्रीय समितिमा आउनुपर्छ भन्ने चाहना छ। ग्रामीण भेगका र तल्लो वर्गका जनताको आबाज सुन्ने र सम्बोधन गर्ने नेतृत्व चाहिएको छ। भाषण गर्नेभन्दा काम गर्ने र सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व महाधिवेशनले छान्नेमा विश्वस्त छु। महाअधिवेशनबाट तल्लो वर्गका जनताको हितमा काम गर्ने नीति लिनुपर्छ।

एकताको सन्देश दिनुपर्छ

सुभास शर्मा

महाधिवेशन प्रतिनिधि, दाङ

निर्वाचनबाट पार्टीप्रति देखिएको जनविश्वास लाई कायम राखेर जनजीवीकाका सबालमा काम गर्र्ने नीति तय गर्नुपर्छ। अहिले पार्टीभित्र गुट हाबी हुन थाल्यो कि भन्ने स्वर सुनिन थालेको छ। आमबुझाइ पनि त्यस्तै बन्दै गएको देखिन्छ। महाधिवेशनले रास्वपाभित्र एकता बलियो छ र एकता रहिरहने छ भन्ने बलियोे सन्देश दिन जरुरी छ।

विधि स्थापित हुनुपर्छ

विराज पौडेल

महाधिवेशन प्रतिनिधि, दाङ

विराज पौडेल

महाधिवेशनले स्पष्ट रुपमा पार्टीभित्र व्यक्ति हैन, विधि बलियो छ भन्ने कुरा स्थापित गर्नुपर्छ। विधिमा टेकेर पार्टीका हरेक प्रक्रिया अघि बढाइनुपर्छ। रास्वपाप्रतिको जनविश्वासलाई डगमगाउन नदिन पार्टीभित्र विधि स्थापित हुनुपर्छ। लोकतान्त्रीक पार्टीका रूपमा आफूलाई परिष्कृत गरेर जेनजी समूहको अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ।

जनमुखी नीति तय गर्नुपर्छ

राजेन्द्र अधिकारी

संयोजक, धादिङ –२

राजेन्द्र अधिकारी

महाधिवेशनले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिलाई केन्द्रमा राखेर स्पष्ट नीति तय गर्नुपर्छ। महाधिवेशनले व्यक्तिभन्दा माथि विचार, विधि र प्रणालीलाई माथि राख्ने संस्कृतिको विकास गर्न आवश्यक छ। नेतृत्व इमानदार, दूरदर्शी, समावेशी र कार्यकर्ताको भावना बुझ्ने खालको हुनुपर्छ। निर्णय प्रक्रियामा लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै युवा पुस्ता, महिला तथा सबै वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टीले आनफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गर्नुपर्छ।

प्रस्तुति: अर्जुन ओली/बाँके, सन्तोष पोखरेल/पोखरा, उपेन्द्र यादव/पर्सा, मदन ठाकुर/रौतहट, दिलबहादुर छत्याल/धनगढी, विनोद सुवेदी/चुमन बस्नेत/विराटनगर, देवेन्द्र बस्नेत/दाङ

प्रकाशित: ६ असार २०८३ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App