नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण प्रदेश सरकारप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।
शुक्रबार मन्थलीमा प्रेस चौतारी नेपाल रामेछापमा आबद्ध पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले पटक–पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा बढेको बताए। उनका अनुसार संघीयता कार्यान्वयनको मुख्य आधार प्रदेश सरकार भए पनि राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो असर यही तहमा परेको छ।
पोखरेलले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने प्रवृत्तिप्रति पनि आपत्ति जनाए। प्रदेशका कारण राज्यको खर्च बढेको भन्ने धारणा गलत भएको दाबी गर्दै उनले तीन तहका सरकारमध्ये प्रदेशले सबैभन्दा बढी पुँजीगत खर्च गर्ने बताए। ‘प्रदेश छैन भने संघीयता नै छैन। संघीयता ठीक हो भन्ने हो भने प्रदेशको भूमिकालाई स्वीकार गर्नुपर्छ,’ उनले भने।
प्रदेश सरकारमा स्थायित्व कायम गर्ने उद्देश्यले कांग्रेससँग सहकार्य गरिएको भए पनि कांग्रेसले सहकार्य तोडेपछि अहिलेको अवस्था आएको पोखरेलको आरोप छ। कांग्रेस नेतृत्वका प्रदेश सरकारमा मुख्यमन्त्रीहरूले एमालेका मन्त्रीलाई हटाएपछि राजनीतिक समीकरण फेरिएको उनले बताए। एमाले अझै पनि कांग्रेस र नेकपासहितको सहकार्यमा प्रदेश सरकार सञ्चालन गर्ने पक्षमा रहेको उनको दाबी छ। तर कांग्रेस तीन दल मिलेर सरकार सञ्चालन गर्न तयार नभएको उनले बताए। मधेस प्रदेशमा भने कांग्रेसले तीन दलसँग मिलेर सरकारको नेतृत्व गरिरहेको उनले स्मरण गराए।
पोखरेलले अहिलेको मुख्य आवश्यकता राजनीतिक स्थायित्व भएको बताए। जनताको यही चाहनालाई एमालेले सम्बोधन गर्नुपर्ने भन्दै उनले वर्तमान मुख्यमन्त्री र दलका नेतृत्वलाई निरन्तरता दिएर अघि बढ्नु उपयुक्त हुने सुझाव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको जानकारी दिए। उनले मुलुकका चुनौती सामना गर्न एमाले नै सक्षम शक्ति भएको दाबी गरे। लोकतन्त्र, संविधान र मुलुकको रक्षाका लागि दलहरू बलियो बन्नुपर्ने भन्दै उनले कार्यकर्ताको मनोबल बढाउने र जनतामा टुटेको विश्वास पुनः स्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए।
पार्टी पुनर्गठन अभियान कुनै व्यक्ति विशेषविरुद्ध नभएको स्पष्ट पार्दै पोखरेलले वैचारिक र राजनीतिक रूपमा एमालेलाई बलियो बनाउन शुद्धीकरण र संगठन सुदृढीकरण आवश्यक रहेको बताए। वर्तमान सरकारमाथि पनि पोखरेलले कडा टिप्पणी गरे। सरकार सुरुमा तयारीका साथ आएको देखिए पनि सय दिन पुग्दासम्म पूर्णरूपमा असफल भएको उनको दाबी छ। सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै उनले सरकारकै कारण नागरिकमा व्यवस्थाप्रति वितृष्णा बढ्ने जोखिम रहेको चेतावनी दिए।
प्रकाशित: २२ श्रावण २०८३ १३:३५ शुक्रबार





