३० कार्तिक २०८२ आइतबार
image/svg+xml ६:३७ पूर्वाह्न
राजनीति

प्रधानमन्त्रीको प्रश्न सहकारी ठग्ने धेरै जेलमा छन्, रविमाथि प्रतिशोध हो भने अन्यमाथि के हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलिरहेको उल्लेख गर्दै एउटा व्यक्तिमाथि मात्रै राजनीतिक प्रतिशोध भन्नु नाजायज रहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित गर्दै यस्तो बताएका हुन्। 

‘लाखौँ जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पूर्व मन्त्री, पूर्वसांसद्, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ ।’ एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? भन्दै उनले प्रश्न गरे। 

‘त्यो चाहिँ कानुनी कारबाही हो ? अर्बौँ रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँ मध्ये कुन कुन व्यक्तिमाथि प्रतिशोध भएको हो ? कुन कुन व्यक्तिमाथिको थुना जायज हो ?’, प्रधानमन्त्री ओलीले प्रश्न गरे।

प्रधानमन्त्री ओली सहकारी ठगीमा धेरै जनप्रतिनिधि र नेता कार्यकर्ता जेलमा रहेको पनि बताए। ‘रविलाई प्रतिशोध साँधिएको हो भने अरूलाई के गरेको भन्ने ? सयौँ व्यक्तिमाथि पूर्व मन्त्री,पूर्व सांसद,मेयर लगायत विभिन्न ओहोदा रहेका दर्जनौँ व्यक्तिमाथि मुद्दा चलेको छ,' उनले भने, 'अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एक जनामाथि प्रतिशोध साँधेको भनेर जबरजस्त भाष्य बनाउन खोजिएको छ । त्यसो भए अरूमाथि के भएको हो त?सत्तापक्षका मानिस पनि थुनिएका सरकारले भनेरै हो त ?’ 

प्रकाशित: २८ श्रावण २०८२ १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App