सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले जेन जी आन्दोलनका सहिद परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताएका छन्।
बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जेन जी आन्दोलनका घाइतेहरूको उपचार र पुनःस्थापनाका लागि ठोस पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।
साम्पाङले आन्दोलनको आधारमा बनेको सरकारले नै घाइतेहरूको दीर्घकालीन व्यवस्थापन र पुनःस्थापनाको जिम्मेवारी लिनुपर्ने बताएका छन्।
भदौ २३ गतेबाट सुरु भएको जेन जी आन्दोलनका क्रममा देशभर ७६ जनाको ज्यान गएको थियो भने करिब २५ सय घाइते भएका छन्। अन्तरिम सरकारले घाइतेहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गर्दै उपचार र केही मासिक सहयोगको व्यवस्था गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि मापदण्ड तयार गरेको थियो।
प्रकाशित: ११ चैत्र २०८२ १२:४२ बुधबार





