१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

‘कांग्रेस २.०’ का नाममा रास्वपाको मोडल अपनाए पार्टीको मौलिकता सकिन्छ: महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले ‘कांग्रेस २.०’ बनाउने नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तो मोडल अपनाउने प्रयास गरिए पार्टीको मौलिकता नै समाप्त हुने बताएका छन्।

विचार र संस्थागत पद्धति छाडेर व्यक्ति केन्द्रित राजनीतिक अभ्यास हाबी हुन थालेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले विगतमा कांग्रेसभित्र सिद्धान्त र विचारमा आधारित बहस हुने गरे पनि अहिले त्यो संस्कार हराउँदै गएको बताए।

‘कुनै समय विभिन्न दृष्टिकोण आउँथे, सबैलाई संश्लेषित गरेर एउटा निष्कर्षमा पुगिन्थ्यो,’ उनले भने, ‘अहिले एउटाले बोल्ने र अरूले ताली बजाउने अवस्था देखिँदै छ।’

कांग्रेस कुनै एक व्यक्तिका लागि निर्माण भएको नभई आफ्नै विचार, संरचना र लोकतान्त्रिक अभ्यास भएको पार्टी भएको उनले स्मरण गराए।

व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्न मूल्यमान्यता र संस्कारलाई तिलाञ्जली दिन नहुने महतको भनाइ छ। मूल्य र विचारको स्थान कमजोर बनाइए पार्टीको कुनै अर्थ नरहने उनले बताए।

संविधान र लोकतन्त्रको मर्मविपरीत हुने कामको सशक्त विरोध गर्न कांग्रेस चुकिरहेकोतर्फ पनि नेता महतले नेतृत्वको ध्यानाकर्षण गराए।

‘लोकतन्त्रको मूल मर्म, संविधानको व्यवस्था र कानुनी प्रावधानविपरीत काम हुन थालेमा त्यसको सशक्त विरोध हुनुपर्छ,’ उनले भने, ‘तर, अहिले त्यो भूमिका प्रभावकारी रूपमा निर्वाह भइरहेको छैन।’

प्रकाशित: १७ आश्विन २०८३ १६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App