२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

उद्योग मन्त्रालय चुनौतीपूर्ण छ, हामी सहयोग गर्ने छौँ : रास्वपा सांसद गजुरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय राज्यको राजस्वको मुख्य आधार भएकाले निकै चुनौतीपूर्ण मन्त्रालय भएको बताएका छन्।

मन्त्रालयअन्तर्गत सुक्खा बन्दरगाहसम्बन्धी संस्थामा पाँच वर्ष काम गरेको आफ्नो अनुभव उल्लेख गर्दै गजुरेलले मन्त्रालयअन्तर्गत आपूर्ति, उद्योग, बजार व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यापारलगायतका क्षेत्रमा थुप्रै चुनौती रहेको बताएका हुन्।

उनले ग्यास, डिजेल, पेट्रोल तथा हवाई इन्धनको नियमित आपूर्ति सुनिश्चित गर्नु सधैँ चुनौतीपूर्ण रहेको बताए। बन्द रहेका उद्योग सञ्चालनमा ल्याउन निरन्तर दबाब रहने तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा सुधार आवश्यक रहेको उनको भनाइ छ।

'म आफैँ ५ वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सुक्खा बन्दरगाहको संस्थामा काम गरेको अनुभवले भन्छ, यो मन्त्रालय राज्यको राजस्वको मुख्य आधार हो र निकै चुनौती भएको मन्त्रालय हो,' सामाजिक सञ्जालमा भनेका छन्, '१ ग्यास, डिजेल, पेट्रोल र हवाई इन्धनको आपूर्ति सधैँ चुनौती। बन्द उद्योग सञ्चालन गर्न सधैँ प्रेसर। औद्योगिक क्षेत्र व्यवस्थापन सुधार गर्नु पर्ने।'

गजुरेलले विशेष आर्थिक क्षेत्रलाई सफल बनाउने, बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने तथा प्रस्तावित औद्योगिक क्षेत्रको निर्माणसम्बन्धी समस्या समाधान गरी निर्माण अघि बढाउने चुनौती रहेको बताए।

त्यस्तै, अन्तर्राष्ट्रिय व्यापारमा सुधार ल्याउने, नयाँ उद्योग खोल्ने तथा निजी लगानीलाई सहजीकरण गर्दै औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने काम पनि मन्त्रालयका महत्वपूर्ण चुनौती रहेको उनले उल्लेख गरेका छन्। 'हामी सहयोग गर्नेछौँ,' गजुरेलले भने।

उनले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहलाई बधाई तथा शुभकामना समेत दिएका छन्।

प्रकाशित: २६ भाद्र २०८३ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App