जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राजधानीसहित देशभर फैलिएको आगजनीका घटनामा काठमाडौं महानगरपालिकाले समयमै दमकल नपठाएको भन्दै मेयर बालेन्द्र साह (बालेन) चौतर्फी आलोचनामा परेका छन्। तर, आलोचनाबिच काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे भने मेयरको बचाउमा उत्रिएका छन्।
असोज २ गते पत्रकार सम्मेलनमार्फत उनले सो दिनको घटनाक्रमलाई आधार बनाएर दमकल पठाउन ढिलाइ भएको तर्क गरेका थिए। बुधबार सामाजिक सञ्जालमा पुनः टिप्पणी गर्दै उनले मेयर बालेनमाथिको आरोप असत्य भएको दाबी गरे।
पाण्डेले फेसबुकमा लेखेका छन्, 'सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो। पत्यार नलागे नेपाली सेनासँग सोध्न सकिन्छ।'
जेन–जी आन्दोलनका क्रममा राजधानीमा संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्रीको सरकारी निवासलगायत राज्यका प्रमुख निकायमा आगजनी भएको थियो। यति संवेदनशील बेला महानगरले कुनै पहल नगरेको भन्दै बालेनमाथि चर्को आलोचना भएको हो।
तर प्रहरी प्रमुख पाण्डेको ताजा अभिव्यक्तिले मेयर बालेनको प्रत्यक्ष बचाउ गर्ने संकेत देखिएको छ। उनले महानगरले आफ्नो भूमिकालाई समयमै निर्वाह गरेको भन्दै आरोपलाई निराधार बताएका छन्।
प्रकाशित: १५ आश्विन २०८२ १४:४२ बुधबार





