११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मधेसी दलहरूको अहंकार नै हारको मुख्य कारण: महतो

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसवादी दलहरूको अहंकार र फुटका कारण निर्वाचनमा मधेसका मतदाताले नयाँ विकल्प खोजेको स्वीकार गरेका छन्।

दलहरू मिल्न नसक्दा निराश भएका जनताले आफ्ना समस्या ‘होलसेल’ मा समाधान हुने आशमा मधेसी अनुहारलाई सिधै प्रधानमन्त्री बनाउने बाटो रोजेको उनको विश्लेषण छ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह मधेसी मूलको भए पनि उनी ‘मधेसवादी’ नेता भने नभएको बताए।

‘बालेन्द्र शाह मधेसवादी होइनन्, त्यो हामीलाई थाहा छ,’ महतोले भने, ‘मधेसवादी नभएकाले नै उनीसँग अधिकार, पहिचान र उत्पीडित समुदायको एजेन्डा छैन। तर, जनताले एउटै मधेसी अनुहार कार्यकारी पदमा पुगेपछि सबै समस्या समाधान हुन्छ कि भन्ने आशमा समर्थन गरे।’

महतोले कांग्रेस, कम्युनिस्टसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि मधेसी जनतालाई धोका मात्र दिएको आरोप लगाए। नयाँ भनिएका दलहरूमा पनि संघीयता र समावेशीताको एजेन्डा नभएको उनले प्रस्ट पारे। ‘रास्वपाले पनि मधेसी अनुहारलाई दुरुपयोग मात्र गर्ने हो,’ उनले थपे, ‘अनुहार देखाएर मत लिइयो, तर अधिकार र पहिचानको सवालमा यी दलले विगतकाले जस्तै धोका दिने निश्चित छ।’

निर्वाचनअघि मधेसवादी दलहरूलाई एउटै चुनाव चिह्नमा लडाउन गरिएको प्रयास असफल हुनु नै आफ्नो पक्षको हारको मुख्य कारण भएको महतोको निष्कर्ष छ।

‘हामीले ६ वटा पार्टीलाई मिलाउने प्रयास गरेका थियौं, तर साथीहरूले मान्नुभएन, ओभर कन्फिडेन्स र अहंकार भयो,’ उनले भने, ‘जनताले तिमीहरू मिलेर आउँदैनौ भने के गर्न सक्छौ भनेर सीधै प्रधानमन्त्री बनाउने ठाउँमा भोट हालिदिए। जनताको त्यो फैसलालाई हामीले सम्मान गर्नुपर्छ।’

पहिचान र अधिकारको लामो आन्दोलन गरेका दलहरू छिन्नभिन्न हुँदा जनताले बाध्य भएर ‘फास्ट ट्रयाक’ खोजेको महतोले बताए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

प्रकाशित: ११ चैत्र २०८२ २०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App