संसदीय राजनीतिमा समाहित वामपन्थी दलहरु जुट र फुटको शृंखला अझै रोकिएको छैन, जारी छ। वामपन्थी नेताहरू सामान्य मतमतान्तरमा पनि फुटेर ससाना दलको ‘पसल’ खोलेर रमाएको देखिन्छ। चोइटिएर गएका वाम नेताहरू कतिपय अवस्थामा अफ्नो पसल नचलेपछि मूलघरमै फर्किएका पनि छन्। काठमाडौं प्रज्ञा भवनमा मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) लगायतका समूहबिच एकीकरण प्रक्रिया अनुमोदन हुँदै गर्दा ललितपुरमा ‘प्रगतिशील अभियान नेपाल’को घोषणा हुँदै थियो।
नेकपा एस केन्द्रीय समितिको बहुमतले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले त्यसमा असहमति जनाएका छन् । उनीहरु छुट्टै भेला गरी नयाँ पार्टी बनाउने तयारीमा छन्।
नेकपा एसको नेपाल समूहसहित अन्य केही वाम घटकलाई माओवादी केन्द्रमा ल्याउने प्रक्रियामा असहमति जनाउँदै सोही पार्टीका जनार्दन शर्मा, राम कार्कीलगायतले ‘प्रगतिशील अभियान नेपाल घोषणा गरेका हुन्।’
प्रज्ञाभवनमा आयोजित माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकबाट संयोजक पुष्पकमल दाहालले यसअघि आफूलाई छाडेर गएका नेताहरू र नेकपा एसको माधव नेपाल समूहलाई भित्र्याउन सबै प्रक्रिया पूरा गर्दा लामो समयदेखि सहकार्य गर्दै आएका पार्टीका नेताहरू शर्मा, कार्की, सुदन किराती, अञ्जना विशंखेलगायत त्यहाँ उपस्थित भएनन्। एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै शर्मा लगायत त्यहाँ अनुपस्थित भएका हुन्।
बैठकलाई सम्बोधन गर्दै दाहालले भने, ‘आज जनार्दनजीहरू आउनुभएन, एकदिन अवश्य आवश्यता पर्नेछ, आउनु हुनेछ । नेतृत्व भनेको नमर्दासम्म अध्यक्ष पदमा रहिरहने, झुण्डिरहने भन्ने कुरा सही होइन, विश्वभरका क्रान्ति, प्रतिक्रान्ति दुवैले यो शिक्षा दिएको छ।’
माओवादी केन्द्र, नेपका एससहित ९ वटा कम्युनिस्ट घटकबिच बुधबार एकता घोषणा हुँदै छ। त्यसको तारतम्य मिलाउन प्रज्ञाभवनमा मओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बसेको हो।
ललितपुरमा आयोजत पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरे। त्यस अवसरमा उनले माओवादी केन्द्र नेतृत्वले चरम गल्ती गरेको र त्यो सह्य नभएको बताए। उनले अभियानमार्फत ‘तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता पनि गरेका छन्।
शर्माले नेपालमा आठ दशकयता भएका राजनीतिक आन्दोलन, जनयुद्ध र जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाकासमेत प्रस्तुत गरेका छन्। शर्माले भने, ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो । आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।’
उनका अनुसार यो अभियान कुनै नयाँ पार्टी होइन तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास हो।
शर्माले नेतृत्वको कमजोरीका कारण माओवादी केन्द्र दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको दाबी गरे। उनले माओवादी शान्ति प्रक्रियामा आउनु ऐतिहासिक घुम्ती भए पनि त्यसपछि नेतृत्व दलाल पुँजीवादको संसदीय प्रणालीमा भासिँदा आन्दोलनको आत्मा कमजोर भएको बताए।
‘हाम्रो नेतृत्वले नीतिहीनतालाई नै नीति बनायो । क्रान्तिकारी आदर्श र जीवनका मूल्यहरू क्षय हुँदै गए। अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ’, उनले भने।
शर्माले माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिले अधिकार क्षेत्रबाहिर गएर हतारमा विभिन्न घटकसँग एकता प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाए। ‘माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिले अहिले जुन एकताको नाटक गरेको छ, त्यो अधिकार क्षेत्रभित्र पर्दैन। महाधिवेशन आयोजक समितिले यस्तो गर्न पाउँदैन। आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनिएको थियो’ उनले भने।
प्रज्ञा भवनबाट दाहालले शर्मालाई एकतासभामा उपस्थित हुन आग्रह गर्दा शर्माले पत्रकार सम्मेलनमा पार्टीमा विधि र पद्धति नभएको बताउँदै थिए। ‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनिएको छ, त्यसले कुनै निकास दिदैन’, शर्माले भने।
चार वर्षअघि माधवकुमार नेपालले एमालेबाट अलग्गिएर बनाएको नेकपा एसलाई माओवादी केन्द्रमा विलय गराउने निर्णय बहुमतबाट गराएपछि त्यसलाई खनाल, भुसाल लगायतले अस्वीकार गरेका छन्। अर्कोतिर नेपालको माओवादी केन्द्र प्रवेश निर्णयलाई सोही पार्टीका शर्मालगायतले अस्वीकार गरेका छन्। यसबाट माओवादी केन्द्र र नेकपा एसमा विग्रह देखिएको छ। विग्रह टार्ने प्रयास सफल हुने देखिँदैन। दाहालले नेतृत्व गरेको माओवादी पटकपटक विभाजित भैसकेको छ।
२०६९ साल असारमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएर मोहन वैद्य समूहले अलग पार्टी गठन गरेको थियो । वैद्यको पार्टीमा पनि टुटफुट भइसकेको छ। २०६९ सालमा वैद्यको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) गठन भएको थियो। सिपी गजुरेल, रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, नेत्रविक्रम चन्द दाहाललाई छाडेर वैद्यतिर लागेका थिए। वैद्यले धेरै समय सबै नेतालाई आफू नेतृत्वको पार्टीमा टिकाउन सकेनन्।
अहिले थापा एमालेमा छन्। भुसाल र गुरुङ दाहालसँगै छन्। चन्दले छुट्टै दल बनाएका छन्। उनले केही दिनअघि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। चन्दले ८ मंसिर २०७१ मा प्रकाण्ड (खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतलाई लिएर नयाँ पार्टी घोषणा गरेका थिए। त्यो पार्टीमा पनि विभिन्न चरणमा फुटेको छ।
चन्दको पार्टीमा गएका पनि केही मूल घर माओवादीमै फर्केका छन् भने केही वाम पार्टी नामका ‘पसल’ खोलेर बसेका छन्। दाहाल नेतृत्वको माओवादीबाट छुट्टिएका गोपाल किराती फेरि सोही पार्टीमा जोडिँदै छन् भने विश्वभक्त दुवाल ‘आहुति’ वैज्ञानिक समाजवादी पार्टीका नाममा एक्लै हिँडिरहेका छन्। प्रभु शाहले पनि दाहाल नेतृत्वको माओवादीबाट अलग भएर मधेसमा छुट्टै पार्टी खोलेका छन्। दाहालसँग लामो समय सहकाय गरी माओवादीबाट बाहिरिएका बाबुराम भट्टराई अहिले कम्युनिस्ट नामबाटै अलग छन्। उनले पार्टीको नाममा कम्युनिस्ट जोडेका छैनन् तर सानो पसल भने चलाइरहेका छन्।
प्रकाशित: १९ कार्तिक २०८२ ०६:२१ बुधबार





