नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले जेन-जी पुस्ताका मुद्दा माओवादीले उठाएकै रहेको बताएका छन् । बिहीबार गाईघाटमा आयोजित ‘एकता बैठक’मा गजुरेलले भदौ २३ र २४ गतेको जेनजी पुस्ता आन्दोलनले तत्कालीन माओवादीका एजेण्डालाई फेरि उजागर गरेको दावी गरे ।
उनले भने, ‘जेन-जीले भदौ २३ र २४ मा गरेको आन्दोलन हाम्रो पर्टी तत्कालीन माओवादीको एजेण्डा केन्द्रित थियो । भ्रष्टाचारको अन्त्य, सुशासन, कार्यकारी राष्ट्र प्रमुख सबै हामीले उठाएका मुद्दा हुन् ।’ गजुरेलले माओवादीले जनयुद्धकालदेखि पछिल्लो सरकार सञ्चालन गर्दासम्म उठाएका मुद्दामै केन्द्रित रहेर जेन-जी आन्दोलन भएको बताए ।
‘भ्रष्टाचारविरुद्ध कारबाही गर्नुपर्छ, जनतामा सुशासन कायम हुनुपर्छ, कार्यकारी राष्ट्र प्रमुख हुनुपर्छ भनेर हामीले माग गर्दै आएका होईनौँ’ गजुरेलको प्रश्न थियो ‘तर, सरकारमा हुँदा एक्सन लिन थालेपछि रातारात हट्नु पर्यो, हामीले उठाएको त्यही मुद्दालाई लिएर जेन-जी आन्दोलन भएको हो ।’ आफ्नै मुद्दालाई लिएर भएको जेन-जी आन्दोलनका मागहरु पुरा गराउने जिम्मा अव नेपाली कम्युनिष्ट पार्टीको काँधमा आईपरेको उनले बताए ।
अहिले बामपन्थी शक्ति मिलेर व्यापक ध्रुवीकरण हुँदै नेपाली कम्युनिष्ट पार्टी निर्माण हुनुलाई इतिहासको स्वभाविक प्रक्रिया भएको उनले बताए । मनमोहनको नेतृत्वमा गठन भएको नरमपन्थी शक्ति संसदीय राजनीति गर्दै नेपालमा पहिलो कम्युनिष्ट सरकार बनाउन सफल भएको तथा प्रचण्ड नेतृत्वको हार्डलाईनको अर्को ध्रुवीकरणले राजतन्त्र फालेर सङ्घीयता र गणतन्त्र स्थापना गरेको उनले बताए ।
अहिलेको संविधानले देशको वर्तमान अवस्थाको निकास निकाल्न नसक्ने भएकाले समाजवाद प्राप्तिको लक्ष्य लिएर अघि बढ्न अघि बढ्नुपर्ने खाँचो औँल्याएका छन् ।
एकता भेलाले आगामी १५ गतेको एकता सन्देश सभा सफल पार्न पाँच सदस्यीय तयारी समिति गठन गरेको छ ।
प्रकाशित: ११ मंसिर २०८२ १९:३८ बिहीबार





