राजनीतिक इतिहासमा कहिलेकाहीँ यस्ता क्षण आउँछन्, जहाँ परिणामभन्दा बढी प्रतिक्रिया रोचक बन्छन्। पछिल्लो निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी को उदय र सत्तातर्फको यात्राले यस्तै एउटा परिदृश्य निर्माण गरिदिएको छ। जहाँ हार्नेहरू निराश मात्रै छैनन्, उनीहरू आफैँलाई सान्त्वना दिने, व्याख्या गर्ने, दोष खोज्ने र कहिलेकाहीँ हास्यास्पद लाग्ने प्रतिक्रियाहरू दिन थालेका छन्।
चुनावमा पराजित भएका धेरै नेताहरूको समान प्रतिक्रिया सुनिन्छ । ‘हामी हारेका होइन, लहरले जित्यो।’ यो वाक्य यति बेला नेपाली राजनीतिमा निकै प्रचलित भएको छ।
जब परिणाम आफ्नो पक्षमा आउँदैन, तब ‘लहर’ सबैभन्दा सजिलो बहाना बन्छ। यो बहानाले व्यक्ति र पार्टीलाई आत्मालोचना गर्नबाट जोगाउँछ। तर यसले एउटा गम्भीर प्रश्न पनि उठाउँछ। यदि लहरले नै जिताउँछ भने, जनतासँगको दीर्घकालीन सम्बन्धको अर्थ के रह्यो?
केही नेताहरू अझै एक कदम अगाडि बढेका छन् । उनीहरूले आफ्नै कार्यकर्तामाथि प्रश्न उठाउन थालेका छन्।
‘को–कोले भोट नहालेका हुन्, प्रमाण ल्याउनु, आँखा चिम्लेर कारबाही गर्छौँ,’ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अव यही बाट पार्टी सुधारेर लैजानु पर्छ।’ यो अभिव्यक्ति केवल आक्रोश होइन, यो पार्टीभित्रको असन्तोषको सङ्केत पनि हो।
तर प्रश्न उठ्छ , के वास्तवमै कार्यकर्ताले धोका दिएका हुन्, वा जनताले विकल्प खोजेका हुन?
पराजयपछि सबैभन्दा रोचक पक्ष भनेको ‘हार दर्शन’ निर्माण हो। जब जित्न सकिँदैन, तब किन जितिएन भन्ने व्याख्या गरिन्छ र त्यो कहिलेकाहीँ निकै अनौठो हुन्छ।
‘विकासले जितिने भए भरतपुरका मेयर किन हार्थे? पैसाले जितिने भए विनोद चौधरी किन हार्थे?’ दाहालको रमाइलो प्रश्न थियो , ‘अनि आफ्नो क्षेत्रका जनतालाई मात्र रिझाएर हुने भए भक्तपुरमा बिजुक्छे किन हार्थे ?।’ यस्ता तर्कहरू अहिले खुलेर सुनिन थालेका छन्।
यी अभिव्यक्तिहरूले एउटा गहिरो मनोवैज्ञानिक पक्ष देखाउँछ । जब हार स्वीकार गर्न गाह्रो हुन्छ, तब कारणहरूलाई उल्टो व्याख्या गरिन्छ।
‘बालेन फ्याक्टर’:अदृश्य प्रतिस्पर्धी
ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जनसँग पराजित भएका उदय शम्सेर राणाको प्रतिक्रिया झनै रोचक छ। ‘मलाई बुद्धसँग होइन, बालेनसँग चुनाव लडिरहेको महसुस भयो,’ उनले भने, ‘सिङ्गो पार्टी नै सबै ठाउँमा बालेनसँग लडिरहेको थियो।’
यसले देखाउँछ कि चुनाव केवल उम्मेदवार बिचको प्रतिस्पर्धा रहेन, यो ‘पुरानो बनाम नयाँ’ को सङ्घर्षमा परिणत भइसकेको छ।
मदेशवादी नेताहरूले पनि आफ्नो शैलीमा हारको व्याख्या गरेका छन्।‘जनताले उम्मेदवार होइन, मधेसीको छोरा प्रधानमन्त्री बन्दै छ भनेर भोट दिए,’ मधेसका वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘पहिलो पटक मेधशी छोरो प्रधानमन्त्री बन्दै छ भन्ने कुराले सबैको मन छोयो।’ यो अभिव्यक्तिले देखाउँछ कि अझै पनि नेपाली राजनीतिमा पहिचान, भावना र क्षेत्रीयता महत्त्वपूर्ण कारकका रूपमा रहेका छन्।
हारको अन्तर यति धेरै हुन थाल्यो कि अव ‘सम्मानजनक हार’ को नयाँ परिभाषा देखिन थालेको छ। हारमा पनि खुसी खोज्ने प्रवृत्ति पनि देखिएको छ।‘अरूभन्दा कम मतान्तरले हारेँ, त्यसैले सहज लागेको छ,’ सिन्धुली २ मा पराजित राजन दाहालले भने, ‘कहिले कहीँ यस्तो हारले पनि खुसी दिँदो रहेछ।’
सिन्धुलीका उम्मेदवार राजन दाहालले ३ हजार मतान्तरलाई ‘सम्मानजनक हार’ किन भनेका छन् भने कतिपय ठाउँमा ठुला भनिएका नेताहरू नेताहरू ५० हजारसम्मको मतान्तरले पराजित भएका छन्।
यसले देखाउँछ कि हारको मापन पनि सापेक्षिक हुन्छ।जति ठुलो हार, त्यति ठुलो पीडा। जति सानो हार, त्यति सानो सान्त्वना।
यसैमा कतिपयले सवै दल मिलर हराएको प्रतिक्रिया दिए त कतिपयले आफ्नैले धोका दिएको आरोप । त्यस्तै कसैले मत धेरै बदर भएको भन्दै गुनासो गरे त कतिपयले चुनावको तयारी गर्न नपुगेको सुनाए।
सबै प्रतिक्रियामध्ये सबैभन्दा परिपक्व अभिव्यक्ति भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको देखियो। उनले हारलाई अन्त्य होइन, सुरुवातको रूपमा लिएका छन्। ‘चुनावको नतिजा मुख्य होइन, देश र जनताको हितमा सङ्घर्ष नै मुख्य हो,’ उनले भने । यो अभिव्यक्ति राजनीतिक आदर्शको झल्को हो। साथै उनले कहीँ कतै आफै भित्र कमजोरी भए त्यसलाई सुधार्नुपर्ने तर्फ पनि सङ्केत गरे।
‘हाम्रा साथी र कर्मचारीहरूले जनतासँग आदर र सम्मानपूर्ण व्यवहार गर्न सकेनन् कि,’ उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि हामीले नम्र भएर जनताको सेवा गर्न चुक्न हुँदैन।’
यो अभिव्यक्ति अरूको भन्दा फरक छ, किनकि यसले दोष बाहिर मात्र होइन, भित्र पनि खोज्छ। यही आत्मालोचनाले नै दीर्घकालीन रूपमा पार्टीलाई सुधारतर्फ लैजान सक्छ।
अन्त्यमा नारायणमान बिजुक्छेले भनेजस्तै राजनीतिमा जित र हार दुवै अस्थायी हुन्। तर ती क्षणमा दिइने प्रतिक्रिया, त्यही नै नेताको वास्तविक चरित्र देखाउने ऐना हो। ‘अव जनता अब केवल भाषण होइन, व्यवहार हेर्न थालेका छन्,’ उत्तम थापा लेख्छन्, ‘त्यसैले पुराना नेताका भाषणलाई थाती राखेर जनताले यस पटकलाई नयाँ रोजेका छन्’।
प्रकाशित: ८ चैत्र २०८२ ११:३५ आइतबार

