नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा प्राप्त समावेशी र समानुपातिक प्रतिनिधित्व जनयुद्धको जगमा सम्भव भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने मुख्य जिम्मेवारी अब वर्तमान सरकारको काँधमा आएको उल्लेख गरे।
संयोजक दाहालले क्रान्तिका उपलब्धिहरूमाथि गर्व गर्ने नेपाली समाजभित्रै केही पात्रहरू अझै पनि परिवर्तनको आन्दोलनलाई अपराधीकरण गर्न उद्यत रहेको आरोप लगाए।
उनले प्राप्त राजनीतिक परिवर्तनलाई अपमान गर्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभसंकेत नभएको सुनाए।
सम्बोधनका क्रममा दाहालले भने, ‘मैले तपाईंहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईंहरूको जिम्मेवारी हो। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ प्रवेश गरेर मन्त्री बन्ने अवसर कहाँबाट प्राप्त हुन्थ्यो ?’
उनले पार्टी जुनसुकै भए पनि संसदमा देखिएको समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने नैतिक हक आफूलाई रहेको दाबी गरे।
संयोजक दाहालले शान्ति प्रक्रियामा आएलगत्तै सुरु भएको मधेशी पहिचानको आन्दोलन र त्यसको प्रभावबारे पनि चर्चा गरे। उनका अनुसार तत्कालीन समयमा काठमाडौंका भित्ताहरूमा मधेशी हुनुको गर्व स्थापित गर्न विशेष अभियान सञ्चालन गरिएको थियो।
‘काठमाडौंसँग मधेशले आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन,’ उनले स्मरण गरे।
प्रकाशित: २९ वैशाख २०८३ १४:४९ मंगलबार





