१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकार सिंहदरबारमा मात्र सीमित भयो, दुरदराजका नागरिकले देख्न पाएनन् : कांग्रेस

नेपाली कांग्रेसकी सचेतक वासना थापाले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा अवरुद्ध सडक सञ्चालनमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले देशभर बाढीपहिरोका कारण अवरुद्ध भएका राजमार्ग तथा सडक सञ्चालनका लागि सरकारले स्पष्ट र एकीकृत योजना सार्वजनिक गर्नुपर्ने माग गरिन्।

उनले कुन सडक पूर्ण रूपमा अवरुद्ध छ, कुन सडक एकतर्फी सञ्चालनमा छ र कुन सडक कहिलेसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ भन्नेबारे नागरिकलाई जानकारी दिन सरकारसँग आग्रह गरिन्। साथै, सडकको अवस्थाबारे एकीकृत सार्वजनिक सूचना प्रणाली निर्माण गर्न नसकेको भन्दै उनले प्रश्न उठाइन्।

‘आज नागरिकले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन,’ उनले भनिन्, ‘जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नुपर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नुपर्थ्यो। जहाँ पुल बगेको छ त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनुपर्थ्यो, जहाँ खान औषधि र अति आवश्यक सामग्रीको अभाव छ त्यहाँ तत्काल राहत पुग्नुपर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुदैन, विपद् परेका दुरदराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनुपर्छ।’

उनले बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि कुन–कुन स्थानमा कति जनशक्ति परिचालन गरिएको छ भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन्।

त्यस्तै, बाढीपहिरो प्रभावित जिल्लामा राहत, उद्धार, उपचार र पुनःस्थापनाका लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ भन्ने जानकारी संसदलाई गराउनुपर्ने उनको भनाइ थियो।

गण्डकी प्रदेशमा मात्र नभई कर्णाली, लुम्बिनी, सुदूरपश्चिमलगायत अन्य प्रभावित प्रदेशमा भएको क्षतिको एकीकृत विवरण संकलनको अवस्थाबारे पनि उनले सरकारसँग जवाफ मागिन्।

पूर्वसूचना प्राप्त हुँदाहुँदै पनि जोखिम क्षेत्रमा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न नसक्नुको कारणबारे प्रश्न उठाउँदै थापाले सरकारको विपद् व्यवस्थापनमा कहाँ कमजोरी भयो भन्ने स्पष्ट पार्नुपर्ने बताइन्।

सरकारलाई घोषणा र आश्वासनमा मात्र सीमित नभई परिणाम देखाउन आग्रह गर्दै थापाले भनिन्, ‘घोषणा होइन, परिणाम देखाऔँ। आश्वासन होइन, उद्धार गरौँ। कागजमा होइन, मैदानमा सरकार देखाऔँ।’

प्रकाशित: १५ आश्विन २०८३ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App