नेकपा एमालेकी सांसद निता घतानीले पुराना नेताहरूको योगदानलाई बेवास्ता गर्दै नयाँ पुस्तालाई उक्साएर पुराना सबै गलत र नयाँ सबै सही भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घतानीले देश निर्माणमा पुराना नेताहरूले गरेको संघर्ष र योगदानको सम्मान गर्नुपर्ने बताइन्।
आफू पनि युवा पुस्ताको प्रतिनिधित्व गर्ने भए पनि उमेर वा राजनीतिक दल स्थापना भएको समयका आधारमा कसैलाई सही वा गलत ठहर गर्न नहुने उनको भनाइ छ।
‘देश बनाउन संघर्ष गरेका बुढाहरू अयोग्य हुने अनि कुलतमा फसेका युवाहरू योग्य हुने, पुरानो सबै बेठिक र नयाँ सबै ठीक भन्ने भाष्य कसरी सही हुन सक्छ ? राजनीतिक मापदण्ड उमेर वा दलको स्थापना वर्ष मात्रै हो र ? नयाँ हुँदैमा सबै सत्य र पुरानो हुँदैमा सधैँ असत्य हुन्छन् ?’ उनले भनिन्।
उनले २०४७ सालपछि नेपालको साक्षरता दरमा भएको वृद्धि, गाउँगाउँमा सडक, विद्युत्, खानेपानी र स्वास्थ्य सेवाको विस्तार तथा औसत आयुमा भएको सुधार पुराना राजनीतिक नेतृत्वकै पालामा भएको दाबी गरिन्।
त्यस्तै, समावेशी संविधान निर्माण, सीमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउने तथा लोकतान्त्रिक गणतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भएका संघर्षलाई पनि भुल्न नहुने उनको भनाइ छ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध संघर्ष गर्दै जेलनेल र यातना भोगेका नेताहरूको योगदानलाई बेवास्ता गरेर सामाजिक सञ्जालमा लाइक र भ्युजका लागि आलोचना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
घतानीले विगतका आन्दोलन र घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकमाथि गोली चलाउने आदेश दिएको भन्ने भाष्य निर्माण गर्नु गलत भएको टिप्पणी समेत गरिन्।
‘देशको सार्वभौमसत्ता र अखण्डताका लागि चुच्चे नक्सा जारी गर्ने ऐतिहासिक हिम्मत गरेका ७४ वर्षीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कसरी बेठिक हुनुभयो ?’ उनले भनिन्।
यसैगरी, उनले वर्तमान सरकार जनताको समस्या समाधान गर्न असफल भएको आरोप लगाइन्। चाडपर्वको मुखमा बजारमा ग्यास अभाव, महँगी र जनताले भोग्नुपरेको दैनिक समस्याप्रति सरकार गम्भीर नभएको उनको भनाइ थियो।
चुनावका बेला निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता जनाउने सरकारले सत्तामा पुगेपछि स्वास्थ्य सेवा नै प्रभावित बनाएको आरोप लगाउँदै उनले आर्थिक अभावका कारण आमाहरूले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आएको दाबी गरिन्।
सुकुमबासी बस्तीमा डोजर चलाउँदा नागरिकको पक्षमा उभिने प्रतिबद्धता जनाउने नेताहरू अहिले कहाँ छन् भन्दै उनले प्रश्न समेत गरिन्। न्याय र सुनुवाइ नपाएर सडकमा नागरिकले आत्मदाहको प्रयास गर्दासमेत सरकार मौन बसेको उनले आरोप लगाइन्।
प्रकाशित: १६ आश्विन २०८३ १५:२६ शुक्रबार





