जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई आफ्नो कार्यशैली तत्काल सच्च्याउन चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत लेख्दै अध्यक्ष राउतले विकास भनेको चिल्ला सडक र फुटपाथ मात्र नभई हरेक नागरिकको गाँस, बास र आधारभूत आवश्यकतामा पहुँच हुनुपर्ने तर्क गरे।
अध्यक्ष राउतले वर्तमान नेतृत्वलाई विवेकहीन भन्दै लोकप्रियतावादी नेतृत्वले मानवीय संवेदना बुझ्न नसक्ने टिप्पणी गरे। आदेश र सामाजिक सञ्जालको लाइक-कमेन्टका भरमा डोजर चलाएर विध्वंस मच्याएको भन्दै आपत्ति जनाए।
सत्ता, सेना र सामाजिक सञ्जालको भ्युजको भरमा आफूलाई जनताभन्दा माथि ठान्ने भ्रम नपाल्न उनले प्रधानमन्त्री शाहलाई सचेत गराएका छन्।
शक्तिको अहंकार खतरनाक हुने भन्दै उनले इतिहासको स्मरण समेत गराए, ‘यसअघि यो तख्तमा बस्ने व्यक्तिलाई पनि आफू भगवान् भएको यस्तै विश्वास थियो।’
राज्य सञ्चालकहरूलाई निर्णय गर्न कठिन भए ‘गोल्डेन रुल’ अपनाउन सुझाव दिँदै राउतले डोजर चलाउनुअघि पीडितको ठाउँमा आफ्ना बालबच्चालाई राखेर हेर्न आग्रह गरेका छन्।
उनले जापानमा एक बालिकाका लागि राज्यले वर्षौंसम्म रेल चलाएको उदाहरण दिँदै नेपालमा भने राज्यले नै बालबालिकाको सर्वस्व खोसेर सडकमा पुर्याएको उल्लेख गरे।
राज्य भनेको जमिन मात्र नभई जनता भएको र सरकार जनताको सेवक मात्र भएको उनले स्मरण गराएका छन्। ट्रोल वा राज्यको दमनको डरले आफू चुप नलाग्ने बताउँदै राउतले सरकारले बेलैमा बाटो नसच्च्याए भोलिको पुस्ताले राज्यप्रति नकारात्मक धारणा राख्ने उनले बताए।
प्रकाशित: २० वैशाख २०८३ १५:०१ आइतबार





