नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।
अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक दाहालले सरकारको दमनविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने बताए।
सरकारप्रति जनआक्रोश बढ्दै गएको बताउँदै उनले सबै प्रतिपक्षहरू एक भएर संयुक्त रूपमा आवाज उठाउने बताए। उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ।’
सरकारले सुकुमबासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन र मजदुरहरुमाथि पनि दमन सुरु गरेको भन्दै उनले सबै मिलेर आन्दोलन गर्ने बताए।
उनले भने, ‘नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ। ज्यादती र अत्याचार गरेको छ। त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’
चाडपर्वपछि आन्दोलनको घोषणा गर्दै उनले भने,‘ नेपालमा ठूला–ठूला चाडपर्वको अगाडि छौँ।चाडपर्व पछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’
प्रकाशित: २ आश्विन २०८३ १५:२९ शुक्रबार


-600x400.jpg)

-600x400.jpg)
