नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीष्मराज आङदेम्बेले सरकारको शासनशैली र सुशासनमा सुधार गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले नागरिकको जीवन र शासन व्यवस्था कुन दिशातर्फ गइरहेको छ भन्ने विषयमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए।
‘हामीले बलियो सरकार खोजेका हौँ, बलियो सरकार किन कमजोर शासन ग¥यो भन्ने प्रश्न मनमा सारी धरे उपजी रहेको प्रश्न हो,’ उनले भने। आङदेम्बेले परिवर्तन खोजेका नागरिकले कुनै व्यक्तिको अहंकार नभई स्थिरता, स्थापित विधि र परम्पराको संस्थागत विकास तथा शासनमा सन्तुलन खोजेको बताए।
‘हामीले सुशासनको सरकार खोजेका हौँ। नेतृत्वको काँचो लहड र हुकुमी दम्भ शासनको कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छ?’ उनले प्रश्न गरे।
उनले नेपाली जनताबाट पाँच वर्ष शासन सञ्चालन गर्ने म्यान्डेट प्राप्त सरकारले दैनिक रूपमा नयाँ–नयाँ समस्या थप्दै जाने हो भने मुलुकको विकास र अग्रगमनको सपना मृगतृष्णा बन्ने चेतावनी दिए।
सरकारसँग रहेको बहुमतको शक्तिलाई आम नेपालीको जीवन उकास्ने र मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने दिशामा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। तर शासकीय कार्यकौशलताको अभाव देखिन थालेको भन्दै उनले सरकारको कामकारबाहीप्रति प्रश्न उठाए।
आङदेम्बेले वर्तमान अवस्था परिवर्तनको अपेक्षा गरेका नागरिकका लागि उत्साहजनकभन्दा पनि संक्रमणकालीन अवस्थाको निरन्तरता जस्तो देखिएको बताए।
‘आजको प्रश्न ठूलो शासकीय परिवर्तनको आस राखेका नागरिकका लागि यो छ महिना उत्साहजनकभन्दा पनि संक्रमणकालीन अवस्थाको निरन्तरता र जनजीवन कठिन भइरहेको तथा शासन अनुभवहीन र भूलचुक लिनेजस्तो अवस्थामा सञ्चालन भइरहेको अनुभव पाएको धरातलीय यथार्थ हो,’ उनले भने।
प्रकाशित: १५ आश्विन २०८३ १२:२३ बिहीबार




-600x400.jpg)
