गृहमन्त्री बनेको दुई महिना नबित्दै ओमप्रकाश अर्यालय मधेस प्रदेशको राजधानी जनकपुरधाम ओर्लिए । मिथिलाको महापर्व छठको पूर्वसन्ध्यामा जनकपुरधाम आएका गृहमन्त्री अर्याल अगुवापछुवा सुरक्षावाहनको लस्करसहित जनकपुरधाम विमानस्थलबाट बाहिरिएको दृश्यले पहिलाकै सरकारी रजगजको झझल्को दिन्थ्यो।
महापर्व छठलाई भौतिक रूपमा अनुभूति गर्न मधेसको सुरक्षा अवस्था बुझ्न भनेर आएका गृहमन्त्री सुरक्षाकर्मीको वाहनको लावालस्करबिच घेरिएका थिए।
गृहमन्त्री जनकपुुरधामको विभिन्न छठ घाटहरूमा पुग्ने क्रममा गंगासागर घाटमा सहभागी भएका थिए । त्यहाँ उनले र्निधारित समयमै निर्वाचन हुने र त्यसका लागि छठी मातासँग पनि प्रार्थना गरेको बताए। गंगासागरको छठ घाटमा पहेंलो रङको कुर्ता र सेतो सुरुवालमा उपस्थित भएका थिए। त्यसपछि मंगलबार मधेस प्रदेशको सुरक्षा संयन्त्रलाई गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन गराउने गरी तयारीमा लाग्न निर्देशन दिएका थिए।
महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल छिन्नामस्त वाहिनीमा जिल्ला र प्रदेशका सुरक्षा समितिका पदाधिकारीहरूको बैठकमा मन्त्री अर्यालले निर्वाचन सुरक्षामा केन्द्रित हुन निर्देश गरेका थिए। प्रदेशका सुरक्षा निकाय प्रमुख र धनुषा, सर्लाही, सिराहा र महोत्तरीका सुरक्षा समितिका पदाधिकारीसँग मन्त्री अर्यालले सरकार तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको समेत बताएका थिए। सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेकाले आवश्यक तयारी अघि बढाउन उनले निर्देशन दिए।
यस्तै, मधेसका नागरिकलाई सुशासनको अनुभूति हुने गरी सेवा प्रवाह गर्नसमेत सुरक्षा संयन्त्रलाई निर्देशन दिएका थिए। बैठकमा प्रदेशका प्रमुख सचिव, प्रदेश सुरक्षा समितिका प्रमुखहरू, चार जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति थियो। उपस्थित सुरक्षा अधिकारीहरूले जिल्ला र प्रदेशमा जेनजी विद्रोहपछिको सामयिक सुरक्षा अवस्था र चुनौतीबारे गृहमन्त्री अर्याललाई जानकारी गराएका थिए।
गृहमन्त्रीसँगै यस मन्त्रीपरिषद्का सबैभन्दा कम उमेरका मन्त्री बब्लु गुप्ता पनि जनकपुरधाम आएका थिए। उनी जनकपुरधामबाट सिधै गृहनगर लहान आइपुगेका थिए। उनलाई सिरहाका सिडिओ चढ्ने रातो बत्तीजडित गाडी उपलब्ध गराइएको थियो। उनी दुई दिन गृहनगर बस्दा सोही गाडी प्रयोग गरेका थिए।
गृहनगर आएका उनको पहिलो भेट जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका लहान नगरपालिका वडा नं १५ स्थित विजय चौधरीको परिवारसँग गरेका थिए।
सो अवसरमा उनले सहिद परिवारसमक्ष सरकारले बेवास्ता गर्न नहुने र सहिदका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
मन्त्री गुप्ताको स्वागत तथा सम्मानमा आयोजित एक कार्यक्रममा आगामी दिनमा सिरहाको खेलकुद क्षेत्रको पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासन दिएका थिए।
गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको जिकिर गरे। देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको समेत बताएका थिए।
शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै क्षेत्रको उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै रहेको उनले बताए। यही भ्रष्टाचार अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आएको तर्क गरे।
उनले जेनजी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनका रूपमा व्याख्या गरे। ‘यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट रूपमा देखाएको छ’, उनले थपे, ‘सरकारले युवाको अपेक्षा र चाहनाअनुसार नीति बनाउनुपर्छ।’
मन्त्री गुप्ताले लहानमा रहेको खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताका विषयमा पनि चर्चा गरे। उनले बलान पुलनजिकको लहान खेलकुदको सात बिघा पाँच कठ्ठा १७ धुर जग्गाको उचित मूल्य नउठेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको बताए। ‘यो प्रकरणको फाइल म आफैं खोजी गरिरहेको छु’, उनले भने, ‘पहिलो दृष्टिमा नीतिगत भ्रष्टाचार भएको देखिन्छ, सूक्ष्म अनुसन्धान गरी कारबाही अघि बढाउँछु।’
जनकपुरधामका बुद्धिजीवी भोगेन्द्र झाका अनुसार अहिलेको सरकार जेनजी आन्दोलनको जगमा उभिएको सरकार हो। ‘यो सरकारलाई सुखसयल र तामझाममा रमाउने छुट छैन’, उनले भने, ‘निर्वाचनभन्दा पनि सुशासन बहाली यो सरकारको प्राथमिक दायित्व हो। यसका लागि यो सरकारले पहिला आफैंबाट र आफ्ना कामकारबाहीबाट जनतालाई सुशासनको अनुभूति गराउन सक्नुपर्दछ, तर यो सरकारको दुईमहिने कामकारबाहीबाट जनतामा सुशासनको प्रत्याभूति अनुभूति हुन सकेको छैन, यो दुःखद हो।’
प्रशासन, प्रहरीसहित जनसरोकारका अड्डाहरूमा सुशासनको बेहाल उस्तै छ । यो सरकार गठन हुँदा जुन आकारमा जनतामा उत्साह थियो, अहिले त्यो थिलथिलो हुँदै गएको झा बताउँछन्। ‘व्यापक मानवीय र भौतिक क्षतिपछि गठन भएको यो सरकारले जनअपेक्षित सुशासन अनुभूति गराउन नसक्दा निराशा र आक्रोशको जग बलियो हुँदै गएको महसुस भइरहेको छ’, उनले भने।
जनतालाई चाहिएको अनुभूति हुने गरी सुरक्षा र सुशासन हो। यो बहाली गराउन सरकार दौडिराख्नुपर्दैन, सरकारका अंगलाई ठिक ढंगबाट परिचालन गर्न सक्नुपर्दछ। देखावटीभन्दा पनि अनुभूति हुने गरी यी दुई काम सरकारले गरिदिए युवाहरूको बलिदानी सार्थक हुने झाको भनाइ छ।
प्रकाशित: १३ कार्तिक २०८२ ०७:५० बिहीबार





