अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीहरूलाई काममा दायाँ–बायाँ नगर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले मन्त्रीहरूलाई समेत ठाउँका ठाउँ बर्खास्त गर्ने गरेको उदाहरण दिँदै उनले कर्मचारीलाई इमानदारितापूर्वक काम गर्न चेतावनी दिएका हुन्।
‘तपाईँहरूले देख्नुभएको छ, प्रधानमन्त्रीले मन्त्रीहरूलाई समेत ठाउँका ठाउँ बर्खास्त गरिरहनुभएको छ,’ मन्त्री वाग्लेले भने, ‘त्यसैले प्रधानमन्त्रीबाटै यो कुरा लागू भइरहेको हुनाले हामीले यति ‘हाइ स्ट्यान्डर्ड’ सेट गरेका छौँ कि कसैलाई पनि दायाँ बायाँ गर्ने छुट छैन।’
उनले सरकारले तय गरेको गति र लयमा अघि बढ्न राज्यका सबै निकाय र कर्मचारी तन्त्रलाई निर्देशन दिए।
सरकारले सुशासनलाई ‘म्याक्रो’ र ‘माइक्रो’ गरी दुई भागमा विभाजन गरेर काम गरिरहेको उनले सुनाइ। ‘म्याक्रो’ सुशासनअन्तर्गत नीतिगत कब्जा, संस्थागत कब्जा र स्वार्थ समूहको गठजोडलाई भत्काउन सरकार लागिपरेको उनको भनाइ थियो।
‘देशलाई नै बन्धक बनाउने गरी केही व्यापारी र नेताहरूको गठजोडले सिंगो राष्ट्र नै बन्धक बनेको छ,’ उनले भने, ‘त्यसलाई चिर्न हामी कटिबद्ध छौँ। हामीले नियम कानुन सबैका लागि समान होस् भन्ने उद्देश्य राखेका छौँ।’
त्यस्तै, ‘माइक्रो’ सुशासनअन्तर्गत नागरिकका साना-साना समस्या समाधानमा सरकार केन्द्रित रहेको उनले बताए। ‘जनता लाइन बस्न नपरोस्, घुस खुवाउन नपरोस् भन्नेमा प्रधानमन्त्रीज्यूले जोड दिनुभएको छ,’ उनले थपे, ‘लाइसेन्स, राहदानी लगायतका सेवा लिन जाँदा जनताले भोग्ने समस्या समाधानमा हाम्रो विशेष पहल छ।’
अर्थमन्त्री वाग्लेले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई चुस्त बनाइने र दण्डहीनतालाई कुनै पनि हालतमा स्वीकार नगरिने स्पष्ट पारे।
उनले कानुनको शासन स्थापित गर्न सरकार दृढ रहेको समेत दोहोर्याए।
प्रकाशित: ३ वैशाख २०८३ २१:२० बिहीबार





