नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रेसमा विशेष महाधिवेशनको बहसलाई अन्त्य भएको बताएका छन्। नेपाली कांग्रेसद्वारा आज हेटौँडामा आयोजित निर्वाचन समीक्षा बैठकमा उनले अदालतको फैसलासँगै कांग्रेसमा विशेष महाधिवेशनको बहस अन्त्य भएकाले सबै एकजुट भई १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिए।
पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकलाई समेटेर अघि बढ्नुपर्ने बताउँदै सभापति थापाले पार्टीका सबैलाई समेटिएर अघि बढ्ने दायित्व आफूहरूको काँधमा आएको उल्लेख गरे। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजामा हार भयो भनेर चिन्ता गर्नुभन्दा पनि भविष्यको चिन्तन आवश्यक रहेकामा उनले जानकारी दिए।
निर्वाचनको नतिजाले कांग्रेसलाई नयाँ अवसर र चुनौती दिएको औँल्याउँदै सभापति थापाले समीक्षाको अर्थ गल्तीमात्र खोज्नु नभएर आगामी यात्रा कसरी सुन्दर र सुनिश्चि गराउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने बताए। कांग्रेस देश सम्हाल्ने पार्टी भएकाले कुनै एउटा निर्वाचनमा हार्नेबित्तिकै हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
सभापति थापाले निर्वाचनमा हारजित प्राविधिक विषय भएकाले देशको लोकतन्त्र सही ट्रयाक सही ल्याउन निर्वाचनमा हामिएको उल्लेख गरे। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेस हारे पनि देशले जितेर व्यवस्था सही ट्रयाकमा ल्याएको उल्लेख गर्दै उनले कांग्रेसले हारे पनि देशले हार्नु हुँदैन भनेर आफ्नो पार्टी निर्वाचनमा गएको बताए।
विसं २०४८ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिँदै सभापति थापाले दोषी देखिएकाको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए। राज्यले विधिको शासन पालन गर्दै गरेको अध्ययन, अनुसन्धानको विरोधमा कांग्रेस सडकमा नआउने प्रष्ट पारे।
जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेकाले पुनः अनुसन्धान गर्नुपर्ने भन्दै सभापति थापाले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग सरकारसमक्ष गरे।
बैठकमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा भएको कमीकमजोरीको समिक्षा गर्दै आगामी दिनमा नयाँ सोच, नयाँ ऊर्जाका साथ अघि बढाउनुपर्नेमा जोड दिए।
प्रकाशित: ८ वैशाख २०८३ ०६:३२ मंगलबार





