नेकपा एमालेको महाधिवेशनस्थल भक्तपुरस्थित सल्लाघारी चोक शनिबार बिहानैदेखि झकिझकाउ, भव्य र व्यवस्थित देखिन्थ्यो।
यद्यपि सल्लाघारी चोक शुक्रबारदेखि नै सजिसजाउ भइसकेको थियो। शनिबार बिहानैदेखि चौरमा एमालेका कार्यकर्ताहरू जम्मा हुन थालिसकेका थिए। महाविधेशनका लागि भव्य, सुन्दर र कलात्मक मञ्च तयार गरिएको थियो। लिच्छविकालमा राजा हरिदत्तका पालामा स्थापना गरिएको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरूप राखी मञ्च निर्माण गरिएको थियो। साथै मञ्च बनाउँदा उपत्यकाका विभिन्न र ऐतिहासिक मन्दिर एकै ठाउँ देखाउने गरी सजावट तथा निर्माण गरिएको थियो।

महाधिवेशनमा सहभागी भएकाहरूले मञ्च बनाउने शैलीप्रति प्रशंसा गरेका थिए र धेरैले मञ्चलाई पृष्ठभूमि राखेर फोटो खिचाएका थिए। एक सहभागीले भने, ‘सम्भवतः नेपालको इतिहासमै यति ठुलो, भव्य, कलात्मक र ऐतिहासिक मञ्च बनेको यो पहिलो पटक होला।’
मञ्चअगाडि नेता, सांसद, भिआइपी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलगायत विभिन्न महत्त्वपूर्ण व्यक्तिका लागि कुर्सी राखिएका थिए। यस्तो कुर्सी २५ हजार रहेको दाबी गरिएको छ। ती सबै कुर्सी भरिभराउ थिए। कार्यक्रममा सहभागी भएका सबै व्यक्तिले नेताले बोलेको भाषण सुनून भन्ने उद्देश्यबाट ठाउँठाउँमा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएका थिए। यस्ता साउन्ड सिस्टम सय भन्दा बढी भएको दाबी गरिएको छ।
यस्ता साउन्डबाट चौरको टाढाटाढा बसेकाहरूलाई सुन्न सजिलो भएको थियो। साथै मञ्चका दायाँबायाँ अग्ला दुई वटा एलइडी स्क्रिन राखिएका थिए। त्यस स्क्रिनबाट टाढैबाट पनि नेताहरूलाई हेर्न सकिन्थ्यो। कार्यक्रम सुरु हुनुअघि उपत्यकाका विभिन्न ठाउँबाट नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित र्याली मञ्चमा पुगेको थियो।
महाधिवेशन स्थलमा पाँच सयभन्दा बढी स्वयंसेवक ड्रेसकोडमा तथा १० हजार अन्य स्वयं सेवक परिचालन गरिएको आयोजक पक्षको भनाइ छ। आयोजक पक्षको भनाइअनुसार उद्घाटनस्थल र वरिपरि अन्य ठाउँमा ५० वटाभन्दा बढी सिसी क्यामरा जडान गरिएका थिए।

झाँकीमा पन्चेबाजासहित बाजागाजा तथा विभिन्न वेशभूषासहित प्रदर्शन गरिएको थियो। नेपाल ट्रस्टको स्वामित्वमा एक सय ८ रोपनी क्षेत्रफल रहेको चौरमा शनिबारबाट सुरु भएको नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभरिबाट आएका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको शनिबार बिहानैदेखि भिड लागेको थियो।
पार्टीको ११औं महाधिवेशन भएकाले समारोह स्थलमा पार्टीका ११ वटा झन्डा राखिएका थिए। उपत्यकाको पश्चिमी जिल्लाबाट आउने एमालेका कार्यकर्ताहरू चढेको बस भक्तपुर सिटिइभिटी अगाडिको चौरमा पार्किङ गरिएको थियो। पूर्वबाट आउने गाडी सल्लाघारी अगाडि जगातीमा राखिएका थिए। गट्ठाघर तथा जगातेमा गाडी पार्किङ गरेपछि एमालेका कार्यकर्ताहरू हिँडेरै महाधिवेशन स्थल पुगेका थिए।
शुक्रबार रातिदेखि नै महाधिवेशन स्थल सल्लाघारी चौरमा विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूको भिड लाग्न सुरु गरिसकेको थियो। महाधिवेशन यही मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: २८ मंसिर २०८२ ०८:४६ आइतबार





