२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बालेन सरकार जनताको मनबाट मात्रै होइन, सत्ताबाट पनि गलत्तिएर बिदा हुने दिन टाढा छैन : बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनप्रति कडा आपत्ति जनाएका छन्।

उनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर ‘शनिबार वा आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर’ भन्ने आदेश दिइएको जिकिर गर्दै उक्त कदमले सरकारको वास्तविक चरित्र उजागर गरेको बताएका छन्।

'सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले 'शनिबार या आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर' भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नांगो बनाएको छ,' उनले भने।

बस्नेतले सुकुम्बासी बस्तीमाथि डोजर चलाउने निर्णय जनविरोधी भएको आरोप लगाए। उनले यसअघि निर्वाचनको समयमा रास्वपा सभापति रवि लामिछानेले सुकुम्बासीको पक्षमा गरेको प्रतिबद्धता स्मरण गर्दै अहिलेको अवस्थासँग तुलना गरेका छन्। 'सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु भन्ने प्रतिबद्धता कहाँ गयो?' उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।

उनले लेखेका छन्, 'केही समयअघि निर्वाचनको मुखमा उहाँकै दलका सभापति रवि लामिछानेले 'सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु' भनेर ठूलो भाषण दिदै प्रतिवद्धता जायर गर्नुभएको थियो। आज त्यो प्रतिबद्धता कहाँ गयो? जनतालाई भ्रममा राख्ने भाषणमा मात्रै सीमित हो त? '

उनले सरकारको पछिल्लो कदमलाई प्रगति नभइ गरिब तथा साना व्यवसायीमाथि लक्षित आक्रमणको संज्ञा दिएका छन्। सडक विस्तार र फुटपाथ व्यवस्थापनको नाममा स्थानीयवासी तथा साना व्यापारीमाथि अन्याय भएको आरोप लगाउँदै उनले भन्सार नीतिमा गरिएको कडाइले समेत निम्न आय भएका नागरिक प्रभावित भएको बताएका छन्।

'सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने हो? गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने हो?' उनले भने, 'सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल चामल खोस्ने? यो तिम्रो प्रगति होइन, सिधा गरिबमाथिको हमला हो।'

बस्नेतले विद्यार्थी तथा कर्मचारी संगठनमाथि गरिएका निर्णयहरूले सरकार लोकतान्त्रिक संस्कारतर्फ नभइ अधिनायकवादी दिशातर्फ उन्मुख भइरहेको आरोप पनि लगाएका छन्। 'विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ यो सरकार लोकतान्त्रीक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो,' उनले भने।  

यस्तै, उनले जनताको सहनशीलताको सीमा हुने उल्लेख गर्दै यस्ता निर्णय जारी रहे सरकारप्रति जनसमर्थन घट्ने चेतावनी समेत दिए। 'यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्,' उनले भने, 'जनताको धैर्यको सीमा हुन्छ। यस्तै चाल हो भने, यो बालेन सरकार चाँडै जनताको मनबाट मात्रै होइन, सत्ताबाट पनि गलत्तिएर बिदा हुने दिन टाढा छदै छैन।'

प्रकाशित: १० वैशाख २०८३ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App