नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउन आवश्यक रहेको बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनको बुधकार उद्घाटन गर्दै उनले सम्मेलनले महिला हिंसाविरुद्ध संकल्प प्रस्ताव पारित गर्ने विश्वास व्यक्त गरे ।
माओवादी सशस्त्र युद्धमा महिलाको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै अध्यक्ष दाहालले भने। “यदि जनयुद्धमा हजारौं, लाखौं महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन।”
युद्वको सुरूवातमा कालिकोट र रोल्पाका महिलाहरूले देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै उनले तीनै महिलाले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ्न प्रेरित नगरेको भए सशस्त्र युद्ध सम्भव नहुने जिकिर गरे । जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव नभएको उनको दाबी थियो ।
अध्यक्ष दाहालले गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । “मैले यो विश्वास लिएको छु कि तपाईंहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्व भैरहेको षड्यन्त्रविरुद्ध संकल्प लिनुहुनेछ,” उनले भने।
उनले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिएपनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । उनले भने, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धिहरू उल्टिने खतरा देखिएको छ।”
अध्यक्ष दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहोर्याउँदै अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको बताए । उनले समानुपातिक निर्वाचन प्रणालीलाई पनि प्रत्यक्ष बनाउन सकिने बताउँदै त्यसले महिलाहरूको सही प्रतिनिधित्व सुनिश्चित गर्ने दाबी गरे ।
प्रकाशित: १८ भाद्र २०८२ १७:३४ बुधबार





