२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस जनताको हैन, आफ्नै दुःखमा सीमित भयो: गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी जनताका वास्तविक समस्या समाधानमा भन्दा आफ्नै आन्तरिक गुनासो र किचलोमा अल्झिएको भन्दै नेतृत्वको आलोचना गरेका छन्।

उनले पार्टी कार्यालयलाई गुटगत छलफलको थलोभन्दा ज्ञान उत्पादनको केन्द्र बनाउनुपर्नेमा जोड दिए।

पार्टीको आर्थिक नीति तथा योजना विभागले केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जिम्मेवार पार्टी भए पनि जनताका मुद्दामा छलफल गर्न चुकेको बताए।

‘यो पार्टी कार्यालयमा देशका समस्याहरूको बारेमा छलफल नै हुँदैन। यहाँ हाम्रा दुःखका बारेमा मात्र छलफल हुन्छ,’ थापाले भन्नुभयो, ‘हाम्रो सदस्यता के भयो, हाम्रो भ्रातृ संस्था के भयो, हाम्रा आफ्ना दुःख छन्। आम नागरिकको दुःखसँग हामी अलग-थलग बसिरहेका छौं।’

उनले राष्ट्रियताको परिभाषालाई जनताको सुख र आर्थिक समृद्धिसँग जोड्न नसके त्यो नाराबाजी मात्र हुने बताए। ‘राष्ट्रियता भनेको शाब्दिक व्यापार होइन,’ उनले भने, ‘समृद्धि र खुसीसँग नजोडिएको राष्ट्रियताको के अर्थ ?’

महामन्त्री थापाले हालै सार्वजनिक भएको ‘मिसन रोजगारी’ कार्यक्रमको उल्लेख गर्दै अब पार्टीले ठोस नीति र कार्यक्रममार्फत जनतासँग जोडिनुपर्ने बताए।

उनका अनुसार, पार्टीका विभागहरूले उत्पादन गरेको ज्ञानलाई स्थानीय सरकारहरूसम्म पुर्‍याएर कार्यान्वयनमा लैजानुपर्छ। ‘हामीले ३३२ वटा पालिकालाई रोजगारी सिर्जना सम्बन्धी योजना पठाएका छौं र विज्ञहरूको सहयोग पनि उपलब्ध गराउँछौं,’ उनले जानकारी दिए।

थापाले डायस्पोराको भूमिकालाई च्यारिटीबाट लगानीतर्फ मोड्नुपर्नेमा जोड दिए। उनले भने, ‘अब च्यारिटी होइन, यहाँको कुनै युवाको आइडियामा डायस्पोराले लगानी गर्ने वातावरण बनाउनुपर्छ।’

सरकार परिवर्तन र आलोपालो प्रधानमन्त्री बन्ने हल्लाप्रति टिप्पणी गर्दै थापाले यस्ता कुराले समय खेर फाल्ने काम मात्र भएको बताए। ‘सरकार भनेको दिन गनेर बस्ने हो र ?’ उनले प्रश्न गरे, ‘यो एक वर्ष हामी के गर्छौं भन्ने मुख्य कुरा हो।’

प्रकाशित: १ श्रावण २०८२ १८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App