नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजमको मिलनले राज्यलाई कमजोर बनाउँदै नागरिकलाई विभाजित गर्ने खतरा रहेको बताएका छन्। उनले सरल उत्तर बेच्ने पपुलिजम र व्यवस्था नै दुश्मन ठान्ने एनार्किजम एक–आपसमा मिसिँदा लोकतान्त्रिक राज्य संरचना नै संकटमा पर्न सक्ने बताए।
'पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ, एनार्किजमले व्यवस्था नै दुश्मन ठान्छ, दुवै मिल्दा राज्य कमजोर हुन्छ, नागरिक विभाजित हुन्छन्,' उनले भने।
महासचिव पोखरेलले देशलाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच, तथ्य र भावनाबीच स्पष्ट भिन्नता तथा लोकतान्त्रिक विधिमै असहमति अभिव्यक्त गर्ने संस्कार आवश्यक रहेको बताए। ‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो, संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो,’ उनले उल्लेख गरे।
महासचिव पोखरेलका अनुसार अहिलेको मुख्य समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकतामा केन्द्रित छ। ती समस्याको समाधानका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको उनको भनाइ छ। उनले निर्वाचनलाई त्यही उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्थालाई नै खल्बलिएको बताए। संयुक्त राष्ट्र संघसहितका विश्व संस्थाहरू उपेक्षित बन्दै गएको र विश्वव्यापी रूपमा सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको रक्षा संवेदनशील बन्दै गएको उनको धारणा छ।
यस्तो अवस्थामा नेपाललाई भूराजनीतिक द्वन्द्वको असरबाट जोगाउन समयमै सचेत हुनुपर्ने महासचिव पोखरेलले जोड दिए। ‘बंगलादेश वा युक्रेन बन्न नदिनु भनेको डर फैलाउनु होइन, समयमै चेतावनी दिनु हो,’ उनले भने।
महासचिव पोखरेलका अनुसार यही चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति हो।
प्रकाशित: १३ माघ २०८२ ११:०९ मंगलबार

