१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

बजेटले अगाडिको खल्तीमा हालेर पछाडिको खल्तीबाट सबै लुटेको छ: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी आर्थिक वर्षको बजेटले मध्यम वर्गलाई राहत दिनुको सट्टा थप भार थोपरेको बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको बजेटले मध्यम वर्ग र निम्न आय भएका नागरिकलाई ‘भ्रम’ मा पारेको आरोप लगाए।

सभापति थापाले सरकारले कर छुटको घोषणा गरे पनि महँगी र अन्य शुल्कका माध्यमबाट जनताको पसिना लुटेको दाबी गरे।

‘सरकारले अगाडिको खल्तीमा २० हजार रुपैयाँ हालिदिएजस्तो गर्छ, तर स्वास्थ्य, शिक्षा र बिजुलीमा महँगी बढाएर पछाडिको खल्तीबाट ३२ देखि ३४ हजार रुपैयाँ झिकिसकेको हुन्छ,’ उनले भने, ‘मध्यम वर्गका लागि यो बजेट लक्जरी होइन, झन् ठूलो सास्ती बनेर आएको छ।’

स्वास्थ्य र शिक्षा क्षेत्रको बेथिति औँल्याउँदै थापाले सरकारी अस्पतालमा आईसीयू बेड नपाएर निजीमा जानुपर्ने बाध्यता र सरकारी विद्यालयको कमजोर अवस्थाले मध्यम वर्ग मारमा परेको उल्लेख गरे।

उनले ५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई भ्याट लगाउने र स्वास्थ्य बिमालाई धराशायी बनाउने सरकारी नीतिको आलोचना गरे।

कृषि क्षेत्रको बजेटबारे बोल्दै सभापति थापाले कुल कृषि बजेटको ७० प्रतिशत हिस्सा रासायनिक मलमा मात्रै खर्च हुनु दुःखद रहेको बताए।

उनले भने, ‘सरकारले ३२ अर्ब मलका लागि छुट्याएकोमा गौरव गरेको छ, तर अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धि हेर्दा यो रकमले गत वर्षको जति मल पनि किन्न पुग्दैन। ५ देखि २० लाख ऋण लिएर कृषि गर्ने साना किसानको समस्यामा बजेट पूर्णतः मौन छ।’

सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रले उल्लेख्य काम गरिरहेको बेला सरकार आफैँ ‘एप’ बनाउने र नियन्त्रणमुखी बन्ने बाटोमा लागेको उनको आरोप छ। उनले सरकारलाई निजी क्षेत्रको प्रवर्द्धनका लागि राजमार्ग बनाइदिन आग्रह गर्दै आफैँ व्यापारमा नहोमिन सल्लाह दिए।

साथै, भूमि बैंकको प्रभावकारी कार्यान्वयनका लागि नियमावली मात्रै बनाएर पनि काम गर्न सकिने ठाउँमा सरकार अलमलिएको उनको तर्क थियो।

राजस्व परिचालनको लक्ष्यलाई थापाले आधारहीन र बदलाको भावनाबाट प्रेरित भनी टिप्पणी गरे। ‘अहिलेको आर्थिक मन्दी र बैंकहरूमा थुप्रिएको पैसा परिचालन हुन नसकेको अवस्थामा सरकारले लिएको राजस्व वृद्धिको लक्ष्य पत्याउने कुनै आधार छैन,’ उनले भने, ‘भोलि काम गर्न सकिएन भनेर अरूलाई दोष थोपर्नका लागि मात्र यस्ता लक्ष्य राखिएका हुन्।’

सभापति थापाले विधिको शासनको महत्त्वमाथि जोड दिँदै सरकारले कानुनलाई आफ्नो निहित स्वार्थका लागि हतियार बनाउन नहुने चेतावनी दिए। उनले लोकतन्त्रमा कानुनको उचित प्रक्रिया पालना हुनुपर्ने भन्दै जहाँ विधिको शासन उल्लङ्घन हुन्छ, त्यहाँ नेपाली कांग्रेस एक ढिक्का भएर उभिने दृढता व्यक्त गरे।

उनले सरकारलाई आफ्ना नीतिहरू सच्याउन र वास्तविक आर्थिक रूपान्तरणमा लाग्न समेत आग्रह गरे।

प्रकाशित: ३१ जेष्ठ २०८३ १८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App