२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

‘सरकारको उपलब्धि रविलाई थुन्नु मात्र भयो, नतिजा चाँडै भोग्नेछन्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताउँदै त्यसको नतिजा चाँडै भोग्नुपर्ने चेतावनी दिएका छन्।

उनले वर्तमान कांग्रेस-एमालेको सरकार देशलाई स्थिर बनाउन नभई केही भ्रष्ट व्यक्तिका फाइल जोगाउन मात्र बनेको आरोप लगाए।

शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले सत्ता गठबन्धनले एक वर्षसम्म संविधान संशोधनको ‘सफेद झुट’ बोलेर जनतालाई झुक्याएको टिप्पणी गरे।

‘ठूलाठूला क्रान्तिपछि देशलाई स्थिर बनाएर व्यवस्था परिवर्तन गर्दा मात्र प्रयोग हुने दुर्लभ शक्ति, अहिले दुई चार जना भ्रष्टहरूको फाइल जोगाउनलाई मात्रै प्रयोग भइरहेको छ,’ उनले भने, ‘ठूला दलहरू आखिर एउटाको फाइल अर्कोले जोगाउने र अर्कोको फाइल अर्कोलाई जोगाउनका लागि मात्र मिलेका रहेछन्।’ 

उनले सरकारले एक वर्षअघि संविधान संशोधन, अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्ने वाचा गरे पनि तीनवटै मोर्चामा असफल भएको दाबी गरे।

‘संविधान संशोधन गर्न दुई तिहाइ सांसद् चाहिन्छ, जुन उनीहरूसँग छैन। यो कुरा थाहा हुँदाहुँदै एक वर्षसम्म सेतो झुट बोलियो,’ उनले भने, ‘अर्थतन्त्र पनि तंग्रिएन, सुशासनको त झन् हरेक दिन काण्डै काण्डको धारावाहिक श्रृंखला चलिरहेको छ।’

मन्त्रीहरूले ७८ लाख र ३२ लाख घूस खाएको तर घूस खुवाउने पूर्वमन्त्री नै भएको जस्ता लज्जास्पद घटनाले देशको अवस्थालाई चित्रण गरेको उनको भनाइ थियो।

सरकारको सबैभन्दा ठूलो काम नै रवि लामिछानेलाई थुन्नु भएको भन्दै डा. वाग्लेले यसको परिणाम गठबन्धनले छिट्टै भोग्ने बताए।

उनले रास्वपाको अभियानमा २८ लाख नेपालीले हस्ताक्षर गरेर सरकारको कदमप्रति असन्तुष्टि जनाएको उल्लेख गर्दै यो रास्वपाको सदस्य वा मतदाता मात्र नभई आम नागरिकको भावना भएको बताए।

प्रकाशित: १० श्रावण २०८२ १९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App