बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले मुलुकको राजनीतिलाई नयाँ दिशा दिने र पार्टीभित्रको तीन पुस्ताको व्यवस्थापन गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मुलुकको बदलिँदो राजनीतिक परिवेशमा नेपाली कांग्रेसले सहकार्य, सहमति र एकताको सन्देश लिएर अघि बढिरहेको बताए।
उनले भने, ‘ पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसले आफ्नो आन्तरिक एकतालाई मजबुत बनाउँदै राष्ट्रिय राजनीतिमा सबै राजनीतिक दलहरूसँग सहअस्तित्व, सहमति र सहकार्यको यात्रालाई निरन्तरता दिनेछ।’
नेपाली कांग्रेसको ऐतिहासिक विरासत स्मरण गर्दै मुख्यमन्त्री बानियाँले विसं २००७ देखिको क्रान्ति, राणा तथा राजतन्त्रविरुद्धको संघर्ष, र शान्ति प्रक्रियाको नेतृत्व कांग्रेसले नै गरेको बताए।
साथै कांग्रेस जात, धर्म वा सम्प्रदायका आधारमा नभई शुद्ध ‘मानवताको सिद्धान्त’ र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित राजनीति गर्ने पार्टी भएको बताए।
‘यो महाधिवेशनमा बुवा पुस्ता, दाइ पुस्ता र भाइ पुस्ता गरी तीनै पुस्ताको सुन्दर संयोजन र व्यवस्थापन भएको छ,’ उनले भने, ‘युवा, पुराना अग्रज र बिचको पुस्तालाई विधानतः एकजुट बनाएर कांग्रेसले नयाँ पुस्ताको आगमन र नेतृत्वलाई सुनिश्चित गरेको छ।’
कांग्रेसले देशको संघीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि थप सशक्त भूमिका खेल्ने उनको भनाइ छ।
प्रकाशित: १८ आश्विन २०८३ १५:२२ आइतबार





