सन् २०२५ विश्वको आधुनिक इतिहासको एक यस्तो निर्णायक वर्षको रूपमा दर्ज भएको छ, जसले सामाजिक, राजनीतिक र प्राविधिक संरचनामा आमूल परिवर्तन ल्याएको छ। यही वर्ष नेपालसहित विश्वका धेरै देशमा जेन–जीको अभूतपूर्व राजनीतिक उदय देखायो। अर्कातिर वर्षको अन्तिमतिर अस्ट्रेलियाको ‘बोन्डाई बिच’मा भएको बीभत्स आतंकवादी हमला, अमेरिकामा एपस्टाइन फाइल्सको सार्वजनिकिकरणले शक्तिशाली व्यक्ति र संस्थाहरूको नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
२०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न नेताहरूसँगको बैठक र मध्यस्थतामार्फत अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा सक्रिय भूमिका निर्वाह गरेको दाबी गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ट्रम्पको भेटघाट पनि बितेको वर्षका प्रमुख घटना थिए। युक्रेनसँगको खनिज सम्झौता अप्रिलमा सफल भएको थियो।
बाङ्ग्लादेशले भारतमा निर्वासित आफ्ना पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिएको घटनाले पनि २०२५ लाई ऐतिहासिक बनायो।
जनवरी
जनवरी १ मा अमेरिकाको न्यू ओरलिन्समा भएको ट्रक हमलामा १५ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए। यो घटनालाई अमेरिकी इतिहासमा नयाँ वर्षको दिन भएको सबैभन्दा घातक हमला मानियो।
अमेरिकाको लस एन्जलस क्षेत्रमा भएको भीषण आगलागीले पूरै महिनालाई प्रभावित पार्यो। यो आगलागीले प्यासिफिक पालिसाडेस र इटन क्षेत्रहरूलाई बढी प्रभावित बनायो। हजारौँ एकड जंगल नष्ट हुनुका साथै ३१ जनाको ज्यान गयो। अनुमानित २५० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगेको अनुमान गरिएको छ। यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो प्राकृतिक विपत्तिहरूमध्ये एक बन्न पुग्यो।
जनवरी २० मा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरे। उनी ७८ वर्षको उमेरमा अमेरिकाको सबैभन्दा ज्येष्ठ निर्वाचित राष्ट्रपति बनेका थिए। ट्रम्पले तत्काल धेरै कार्यकारी आदेशहरू जारी गरे, जसमा पूर्व राष्ट्रपति जो बाइडेनका नीतिहरू उल्टाउनेदेखि सीमा सुरक्षा मजबुत पार्नेसम्म समावेश थिए।
जनवरी महिनामै थाइल्यान्ड दक्षिण पूर्वी एसियामा पहिलो पटक समलिंगी विवाहलाई वैधानिकता दिने देश भयो। भारत उत्तर प्रदेशको प्रयागराजमा कुम्भ मेलामा भएको भाग दौडले कम्तीमा ३० जना (सरकारी तथ्यांक) को ज्यान गयो। जनवरीमा नै अमेरिकी एयरलाइन्सको उडान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरबिच हवाई दुर्घटना हुँदा ६७ जनाले ज्यान गुमाउनु परेको थियो।
फेब्रुअरी
फेब्रुअरीमा मनोरञ्जन र आर्थिक घटनाहरूले प्रमुखता पाए। ग्रामी अवार्ड समारोहमा बेयोन्सेले धेरै अवार्ड जितेर इतिहास रचिन्। अमेरिकाले चिनियाँ सामानमा अतिरिक्त १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएर दुई ठुला अर्थतन्त्रबिच व्यापार युद्धको औपचारिक सुरुवात गर्यो। ट्रम्पले अन्य देशहरूमाथि पनि ट्यारिफ बढाउने प्रक्रिया सुरु गरे। फेब्रुअरी अन्तिमतिर अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिचको ओभल अफिस बैठक खुब चर्चामा रह्यो। त्यो बैठकमा खनिज स्रोतहरूको सम्झौतामा सहमति हुन सकेन।
मार्च
मार्च महिनालाई वैज्ञानिक सफलता र राजनीतिक परिवर्तनका लागि याद गर्न सकिन्छ। मार्चमा फायरफ्लाइ एरोस्पेसको ‘ब्लु घोस्ट’ ले चन्द्रमामा सफल सफ्ट ल्यान्डिङ गरेको थियो। त्यसलाई व्यावसायिक कम्पनीद्वारा पहिलो पटक चन्द्र सतहमा पुग्ने कीर्तिमानका रूपमा हेरियो, जसले अन्तरिक्ष अन्वेषणमा निजी क्षेत्रको भूमिकालाई बढायो।
मार्च १४ मा मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बने। मार्च १८ मा अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विलमोर २८६ दिनपछि पृथ्वी फर्किएका थिए। उनीहरू स्टारलाइनर यानमा समस्या आएका कारण मिसनमा फसेका थिए। मार्चमा नै अफ्रिकी मुलुक नामिबियामा नेतुम्बो नान्डी–न्डाइत्वाह पहिलो महिला राष्ट्रपति बनिन्। मार्च अन्यतिर म्यानमारमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा ५४ सयभन्दा धेरैको मृत्यु भयो। सो विपदमा ११ हजारभन्दा धेरै घाइते भएका थिए।
अप्रिल
अप्रिल २१ मा पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भयो। अप्रिल २२ मा भारतको जम्मु काश्मीरको पहलगाम नजिकै पर्यटकहरूमाथि भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो। सोही घटनाले भारत–पाकिस्तानबिच तनाव बढायो।
अप्रिलमा अमेरिका र युक्रेनबिच खनिज स्रोतहरूको सम्झौता भएको थियो। यो सम्झौताले अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना गर्यो, जसअनुसार युक्रेनका खनिज, तेल, ग्यास आदिबाट प्राप्त राजस्वको ५० प्रतिशत अमेरिकालाई दिने व्यवस्था गर्यो। यसलाई युक्रेनको स्रोतहरूमा अमेरिकी हिस्सेदारीको रूपमा आलोचना पनि भयो। त्यसयता अमेरिकाले निरन्तर शान्तिका लागि युक्रेन र रुससँग छलफल गर्दै आएको छ। तर अहिलेसम्म कुनै पनि नतिजा निस्कन सकेको छैन।
मे
मेमा फ्रिडरिक मर्ज नयाँ जर्मन चान्सलर बने। ७ मेमा भारतले पहलगाम हमलाको जवाफमा पाकिस्तानी सैन्य आधारहरूमा मिसाइल प्रहार गरेको थियो। छोटो समयको द्वन्द्व मे १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि युद्ध विराममा परिणत भयो। चार दिनको उक्त द्वन्द्वमा झन्डै सय जनाले ज्यान गुमाउनु परेको थियो। मेमा नै कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्ट पहिलो अमेरिकी पोप निर्वाचित भए।
जुन
जुन महिनामा क्षेत्रीय द्वन्द्व र अन्तरिक्ष सफलताहरू प्रमुख रहेका थिए। जुनमा युक्रेनले तीन वर्षदेखि जारी युद्धमा ‘अपरेसन स्पाइडरवेब’ मार्फत रुसी हवाई आधारहरूमा ड्रोन हमला गर्यो। जुनमा नै ट्रम्प तानाशाह बन्न खोजेको भन्दै अमेरिकाभरि ‘नो किङ्स’ विरोध प्रदर्शन हुँदा लाखौँ सहभागी थिए।
जुनमा नै अमेरिकाले इरानी परमाणु केन्द्रहरूमा हमला गरेको थियो। सोही घटनाले इरान र इजरायलबिच १२ दिने छोटो द्वन्द्वको सुरुवात भयो। झन्डै दुई साता चलेको उक्त लडाइँमा इरानमा एक हजारभन्दा धेरैले ज्यान गुमाएको बताइएको छ। उजा इजरायलमा २९ जना मारिएको छ। जुन अन्त्यतिर ट्रम्पको मध्यस्थतामा कंगो र रुवान्डाबिच शान्ति सम्झौतामा हस्ताक्षर भयो।
जुलाई
जुलाईमा नै १४औँ दलाई लामाले आफ्नो उत्तराधिकारीको घोषणा गरेका थिए। १५ औँ दलाई लामाको व्यक्तिगत पहिचान वर्तमान नेताको निधन पछि मात्र थाहा पाउन सकिनेछ। जुलाई ४–७ मा टेक्सासमा बाढीले १३५ जनाको ज्यान लियो। अनुमानित १८–२२ अर्ब डलर क्षति भयो। जुलाईमा थाइल्यान्ड–कम्बोडियाबिच सीमामा जारी द्वन्द्व छोटो समयका लागि ट्रम्पकै मध्यस्थमा रोकिएको थियो।
अगस्ट
अगस्ट २६ मा अमेरिकी पप स्टार टेलर स्विफ्ट र खेलाडी ट्राभिस केल्सले इन्गेजमेन्ट घोषणा गरेर विश्वभर रहेका फ्यानलाई खुसी हुने मौका दिएका थिए। अगस्ट १५ मा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबिच अलास्काको एन्कोरेजमा बैठक भयो। यो बैठक मुख्य रूपमा युक्रेन युद्धमा केन्द्रित थियो। तर कुनै सहमति बन्न सकेन।
सेप्टेम्बर
सेप्टेम्बरमा राजनीतिक हिंसा र युवा आन्दोलनले ध्यान खिच्यो। सेप्टेम्बर महिनामा नै नेपालमा दुई दिने जेनजी प्रदर्शन भयो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा दर्ता हुन नमानेको भन्दै फेसबुकसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि त्यस विरुद्ध आन्दोलन सुरु भयो।
आन्दोलनको पहिलो दिन सरकारले बल प्रयोग गर्दा ठुलो संख्यामा स्कुले विद्यार्थीको ज्यान गयो। जवाफमा जेनजी प्रदर्शन थप चर्किएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो। उक्त घटनामा ७६ जनाले ज्यान गुमाएका थिए। सोही महिना नेपालमा अन्तरिम सुशीला कार्की नेतृत्वको सरकार गठन भयो, जसले गठनको ६ महिनाभित्र (मार्च ५) मा निर्वाचन गर्ने वाचा गरेको छ। सेप्टेम्बरमा नै अमेरिकी सहर युटाहको ओरेमस्थित युटाह भ्याली युनिभर्सिटीमा चार्ली किर्कको हत्या भएको थियो।
अक्टोबर
अक्टोबरमा इजरायल–हमासबिच युद्ध विराम भयो। अक्टोबर २१ मा जापानमा सनाए ताकाइची पहिलो महिला प्रधानमन्त्री बनिन्। अक्टोबर ३० मा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दक्षिण कोरियाको बुसानमा बैठक भयो। यो बैठक करिब सय मिनेट चलेको थियो, जसमा व्यापार, ताइवान र युक्रेन जस्ता विषयमा छलफल भयो। ट्रम्पले केही ट्यारिफ घटाउने सहमति गरे। तर अपेक्षा गरिए जसरी व्यापार सम्झौता भने हुन सकेन।
नोभेम्बर
४ नोभेम्बरमा जोहरान ममदानी न्युयोर्कका मेयर चुनाव जितेका थिए। नोभेम्बरमा टाइफुनले फिलिपिन्समा सयौँको ज्यान लियो। नोभेम्बर १७ मा बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले भारतमा निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी विरोध प्रदर्शन दमन गरेको आरोपमा मानवताविरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय सुनाएको थियो। यो बाङ्ग्लादेशको इतिहासमा पूर्वप्रधानमन्त्रीलाई दिइएको पहिलो मृत्युदण्ड थियो। तर भारतले सुपुर्दगी गर्न नमान्दा उनलाई सुनाइएको सजाय लागु हुन सकेको छैन। यस प्रकरणले गर्दा दुई देशबिच सम्बन्धमा दरार समेत आइरहेको छ। नोभेम्बरमा नै हङकङको एक आवासीय भवनमा आगलागी हुँदा १५० भन्दा बढीको ज्यान गएको थियो।
डिसेम्बर
वर्षको अन्तिम महिना अस्ट्रेलियाका लागि दुःखद रह्यो। डिसेम्बर १४ मा सिड्नीको बोन्डाइ बिचमा हानुक्का उत्सवमा आतंकवादी गोली काण्ड भयो, जसमा १५ जनाको मृत्यु भयो भने दर्जनौँ घाइते भए। त्यसलाई अस्ट्रेलियाको इतिहासकै घातक हमला मानिएको छ। यसै महिना बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको उपचारको क्रममा बेलायतमा निधन भयो। जेफ्री एपस्टाइनसँग सम्बन्धित अनुसन्धान फाइलहरूको सबैभन्दा ठुलो सार्वजनिक खुलासा डिसेम्बर १९ देखि २३, २०२५ सम्म चरणबद्ध रूपमा भयो। यसमा दशौँ हजार कागजात र सयौँ तस्बिरहरू समावेश थिए, जसमा पूर्व राष्ट्रपति बिल क्लिन्टन, राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्बपति बिल गेट्ससहित राजनीति, व्यवसाय र मनोरञ्जन क्षेत्रका धेरै चर्चित व्यक्तिहरू उल्लेख छन्।
सन् २०२५ ले हामीलाई परिवर्तन अनिवार्य छ भन्ने पाठ सिकाएर गएको छ। जब सत्ताले नागरिकको आवाज सुन्न मान्दैन तब प्रविधिको सहारामा नयाँ पुस्ताले आफैँ बाटो निर्माण गर्छन् भन्ने पनि देखायो। गाजा युद्ध सकिएको भए पनि युद्धपछि जारी अन्य संकट टरेका छैनन्। युक्रेन युद्ध अहिले पनि सकिएको छैन। आगामी वर्ष २०२६ मा यी घटनाहरूबाट प्राप्त अनुभवले विश्वलाई अझ बस्न लायक बनाउने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: १६ पुस २०८२ १८:५८ बुधबार





