प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै ठगुन्नाले बाढीका कारण नागरिकको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति बेपत्ता र घाइते भएको बताए। बाढीबाट हजारौँ नागरिक घरबारविहीन भएको तथा ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पुगेको उनको भनाइ छ। उनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना गरे।
ठगुन्नाका अनुसार बाढीका क्रममा दार्चुलाको लेकम गाउँपालिका ४ का नेपाली सेनाका सहसेनानी देवसिंह धामी, नौगाड गाउँपालिका ५ का नेपाली सेनाका नायक विकासबहादुर ठकुरी, शैल्यशिखर नगरपालिका ८ का भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी र अपर त्रिशूली–१ मा कार्यरत शैल्यशिखर नगरपालिका ८ का जयदत्त जोशी बेपत्ता भएका छन्।
उनले बेपत्ता व्यक्तिहरूको अवस्था तत्काल पत्ता लगाउन खोज तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरे। साथै बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र बेपत्ताको खोजी कार्यलाई द्रुत गतिमा अघि बढाउनुपर्ने बताए।
‘बेपत्ताहरूको अवस्था पत्ता लगाउन उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीडितहरूको राहत, पुनर्स्थापना र खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भने।
ठगुन्नाले अविरल वर्षाका कारण दार्चुलाको अपिहिमाल गाउँपालिका १ भट्टामा पहिरो जाँदा दर्जनौँ स्थानीय विस्थापित भएको पनि बताए। विस्थापित परिवारको पुनर्स्थापनाका लागि तत्काल आवश्यक व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी चमेलिया नदीको तटीय क्षेत्रअन्तर्गत अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका बस्ती र महाकाली नदीको तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न उनले माग गरे।
उनले चमेलिया नदी किनारमा रहेको दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा तत्काल पक्की तटबन्ध निर्माण गर्नुपर्ने बताए। समयमै तटबन्ध निर्माण नभए बजार ठूलो जोखिममा पर्न सक्ने उनको चेतावनी छ।
ठगुन्नाले गोकुलेश्वर बजार तटबन्ध निर्माणका लागि विगतमा विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बहुवर्षीय सहमतिको प्रक्रिया अघि बढाउन फाइल अर्थ मन्त्रालयमा पुगेको जानकारी दिए।
प्रकाशित: २४ भाद्र २०८३ १३:५३ बुधबार





-600x400.jpg)