मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेट गरेका छन्।
भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छ। टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मुख्यमन्त्रीसँग भेटमा भारतीय प्रतिनिधिमण्डलमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय सहभागी थिए।
मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: २९ श्रावण २०८२ ०९:०१ बिहीबार





