२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

कर छुट देखावटी राहत भएपनि भ्याटले मध्यम वर्गमाथि थपियो बोझ: गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको नयाँ कर नीति र बजेटले मध्यम वर्गलाई राहत दिनुको सट्टा थप आर्थिक भार बोकाएको आरोप लगाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला’ कार्यक्रममा बोल्दै थापाले आयकरको सीमा पाँच लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको विषयलाई सरकारले राहतका रूपमा प्रस्तुत गरे पनि शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत क्षेत्रमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर त्यसको प्रभाव उल्ट्याइएको बताए।

उनले कर संरचनाले मध्यम वर्गलाई वास्तविक राहत दिन नसकेको दाबी गर्दै सरकारले कर छुटको सन्देश दिए पनि दैनिक जीवनसँग जोडिएका सेवामा थप आर्थिक भार सिर्जना गरेको टिप्पणी गरे।

सभापति थापाले प्रस्तुत बजेटले देशको वर्तमान आर्थिक शिथिलता र संरचनागत समस्यालाई सम्बोधन गर्न नसकेको पनि बताए। उनका अनुसार बजेटले अर्थतन्त्रमा देखिएको सुस्तता र आम नागरिकमा बढ्दो निराशालाई तोड्ने खालको स्पष्ट रणनीति प्रस्तुत गर्न सकेको छैन।

कृषि क्षेत्रलाई सरकारले अपेक्षित प्राथमिकता नदिएको आरोप लगाउँदै उनले रासायनिक मल खरिदका लागि गत वर्ष ३२ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि २८ अर्ब रुपैयाँ मात्र छुट्याइएको उल्लेख गरे। यसले प्रत्यक्ष रूपमा किसान प्रभावित हुने उनको भनाइ थियो।

सूचना प्रविधि (आईटी) तथा स्टार्टअप क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी घोषणाहरू सकारात्मक भए पनि कार्यान्वयन पक्ष कमजोर हुन सक्ने चिन्ता थापाले व्यक्त गरे। नवप्रवर्तन र उद्यमशीलता विस्तारका लागि राज्यले जग्गा वा भवन उपलब्ध गराई ‘प्लग एन्ड प्ले’ मोडलको वातावरण निर्माण गर्नुपर्ने उनको सुझाव थियो।

लोकतान्त्रिक प्रणालीमा सरकार बहुमतबाट सञ्चालन भए पनि विधिको शासन र संस्थागत प्रक्रियाको सम्मान अपरिहार्य रहेको उल्लेख गर्दै उनले कानुनी प्रक्रिया मिचेर अघि बढ्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने चेतावनी दिए।

कार्यक्रममा थापाले नेपाली कांग्रेसभित्र आर्थिक र नीतिगत बहसलाई संस्थागत बनाउने उद्देश्यले पार्टीको पोलिसी एकेडेमीमार्फत ‘बीपी साहित्य सम्मेलन’ र ‘सुवर्ण शमशेर इकोनोमिक कन्क्लेभ’ जस्ता शृङ्खलाबद्ध कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।

प्रकाशित: ३१ जेष्ठ २०८३ १९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App