नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको प्रति विरोध गरेको छ। अध्यक्ष विद्वान गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा यो पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको उल्लेख छ।
तरुण दलले यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको भनेको छ। गुरुङले यसबाट देश अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
विज्ञप्तिमा सरकारलाई यस्ता निर्णय पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न र राजनीतिक सहिष्णुता कायम राख्न कडा चेतावनी दिइएको छ। देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा दायित्व भएको समेत तरुण दलले स्मरण गराएको छ।
साथै, तरुण दलले राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्ति हेर्नुस्

प्रकाशित: १४ चैत्र २०८२ १२:२९ शनिबार





