१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकारलाई खबरदारी गर्दै ताप्लेजुङका जेन-जी

सीमानाकाको सहज सञ्चालन र भन्सार कार्यालय स्थापना सहितका बिषयमा छलफल कार्यक्रम सकेका ताप्लेजुङका जेन-जी अगुवाहरुले जिल्लाका समसामयिक विषयमा काठमाडौं केन्द्रित कार्यक्रम तय गर्ने योजना बनाएका छन् ।  

जेन-जी अगुवा सागर लामगादेका अनुसार मौवाटारमा रहेको भन्सार कार्यालयको स्तरोन्नती, कर्मचारी व्यवस्थापन, सुख्खा बन्दरगाह निर्माण र जिल्लावासीलाई अन्तरदेशिय सीमापासको सहज व्यवस्थापनका विषयमा प्रधानमन्त्री,अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर कुरा राख्ने योजना छ ।  

भेटका क्रममा ताप्लेजुङमा शुक्रबार भएको छलफल कार्यक्रमबाट प्राप्त निश्कर्ष र सुझाव समेत सरकारलाई अवगत गराइने छ । नेपाल,चीन र भारतलाई जोड्ने सबैभन्दा(अनुमानित २८५ किमी)छोटो दूरीको त्रिदेशीय मार्ग तमोर करिडोर (मुलघाट–दोभान–ओलाङचुङगोला) अन्तरगत सीमानाका टिपताला सडकको स्तरोन्नती र सहज सञ्चालन गर्न नेपाल सरकारमार्फत चीन सरकारको समेत ध्यानाकृष्ट गर्ने योजना रहेको जेन-जी अगुवाहरुले बताएका छन् ।  

त्यसका लागि काठमाडौंमा रहेका जेन-जी अगुवाहरुको संयोजनमा आफ्ना प्रस्ताव सरकारसमक्ष पेश गर्नेगरी गृहकार्य भइरहेको लामगादेले जानकारी दिए ।  

मौवाटारमा सुख्खा बन्दरगाह निर्माण गर्न सके नेपाल–चीन र भारतको त्रिदेशीय व्यपारिक सम्वन्ध स्थापना गर्न सकिने आशयका साथ फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले यसअघिनै सरकारलाई ध्यानाकर्षण पत्र बुझाईसकेका छन् ।  

जेन-जी अगुवाहरुले सीमानाका, मुल भन्सार कार्यालय, मौवाटार सुख्खा बन्दरगाह निर्माण,सडक स्तरोन्नती र सीमापास वितरणका बारेमा सीमा क्षेत्रको पालिका फक्ताङलुङ गाउँपालिका र उक्त गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलासंग घनिभूत समन्वय गर्ने बताएका छन् । जेन-जी ताप्लेजुङका संयोजक गोपाल गुरागाँईका अनुसार शुक्रवार जेन-जी ताप्लेजुङद्धारा नेपाल–चीन सीमानाका टिपताला मुल भन्सार कार्यालय सहित उत्तर दक्षिण सडकका बिषयमा सरोकारवालापक्ष समेतको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भइसकेको छ । जेन-जी अगुवाहरुले उक्त छलफलबाट प्राप्त सुझावका आधारमा आफुले उठाएका सवालहरु सरकार र सरकारमार्फत चीनसमक्ष कुटनीतिक पहल गर्ने बताएका छन् ।  

 

प्रकाशित: १५ कार्तिक २०८२ १६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App