२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सञ्चारगृहअगाडि शंकास्पद सवारी पार्किङ: सुरक्षा जोखिम नभेटिए पनि उद्देश्यबारे अनुसन्धान जारी

राजनीतिक दल र पत्रकार महासंघको चासो

राजधानीका विभिन्न सञ्चारगृह तथा दलका नेताको घर अगाडि पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा पार्क गरिएपछि उत्पन्न भएको घटनाले राजनीतिक, सुरक्षा तथा सञ्चार क्षेत्रको ध्यान तानेको छ।  

प्रहरीले प्रारम्भिक अनुसन्धानमा ती सवारीसाधनबाट कुनै सुरक्षा जोखिम वा विस्फोटक पदार्थ फेला नपरेको जनाएको भए पनि सवारी किन सञ्चारगृहलाई लक्षित गरी पार्क गरियो भन्ने विषयमा अनुसन्धान जारी राखेको छ।

प्रहरीका अनुसार कान्तिपुर पब्लिकेसन्स, हिमालय टेलिभिजन, अनलाइनखबरलगायतका सञ्चारगृह र कांग्रेस सभापति गगन थापाको निवास अगाडि पार्क गरिएका सवारीसाधनमध्ये एउटा गाडी खरिद भएको पाँच दिनभित्रै त्यहाँ ल्याइएको खुलेको छ भने अन्य दुई सवारी निजी प्रयोजनका रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।  

घटनामा प्रयोग भएका सबै सवारीका धनी तथा चालकसँग सोधपुछ भइरहेको र उनीहरूको गतिविधिसमेत विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। घटनामा कुनै आपराधिक उद्देश्य थियो वा सामान्य संयोग मात्रै थियो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ।

घटनापछि नेपाल पत्रकार महासंघले सञ्चारगृह लक्षित गतिविधिले पत्रकार र सञ्चार संस्थाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। महासंघले राज्यलाई प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन, सञ्चारकर्मीको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घटनाको कडा भर्त्सना गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने वा स्वतन्त्र पत्रकारितालाई प्रभावित पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गरिएको छ। रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय तथा सुरक्षा निकायलाई घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक अनुसन्धान गरी संलग्न व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्न आग्रह गरेको छ।

यता प्रहरीले भने हालसम्मको अनुसन्धानबाट कुनै सुरक्षा चुनौती वा विस्फोटक सामग्री फेला नपरेकाले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। अनुसन्धान टोलीले सिसिटिभी फुटेज, सवारीको आवागमन विवरण, चालकको गतिविधि तथा अन्य प्राविधिक प्रमाण संकलन गरिरहेको जनाएको छ। घटनाको उद्देश्यबारे निष्कर्षमा पुग्न थप अनुसन्धान आवश्यक रहेको प्रहरीको भनाइ छ।

सञ्चारगृहलाई लक्षित गरी भएको यो घटनाले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा र सार्वजनिक संस्थाप्रतिको विश्वाससँग जोडिएको बहसलाई पुनः सतहमा ल्याएको छ। घटनाको वास्तविक उद्देश्य के थियो भन्ने विषय भने प्रहरी अनुसन्धानको अन्तिम निष्कर्षपछि मात्रै स्पष्ट हुने देखिएको छ।

प्रकाशित: २९ असार २०८३ १७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App