नेकपा (एमाले) का नेता सूर्य थापाले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले एमाले छाड्नु राजनीतिक जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ भएको स्वीकार गरेको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन्।
खनालले नागरिक फ्रन्टलाइनमा अन्तर्वार्ता दिदैँ आफूले रगत पसिना बगाएर बनाएको एमाले छाड्नु राजनीतिक जीवनकै सबैभन्दा ठूलो महाभूल भएको बताएका थिए। सोही अभिव्यक्तिलाई उद्धृत गर्दै थापाले खनालले आफ्नो गल्ती इमानदारीपूर्वक स्वीकार गरे पनि समय र परिस्थिति अर्थहीन भइसकेको टिप्पणी गरेका हुन्।
थापाले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘आदरणीय झलनाथ खनालले फेरि अर्को ब्लन्डर गर्दै सार्वजनिक गर्नुभएको यो स्वीकारोक्ति महत्वपूर्ण छ, तर समय र परिवेश अर्थहीन भइसक्यो।’
थापाले तत्कालीन समयमा एमाले विभाजन हुन नदिन आफूले खनाललाई डल्लुस्थित निवासमै पुगेर लामो छलफल गरेको स्मरणसमेत गरेका छन्।
आफूले खनाललाई तत्कालीन पार्टी अध्यक्षसँग निरन्तर संवाद बढाउन, चित्त नबुझेका विषय प्रत्यक्ष भेटेर राख्न र पार्टी विभाजन नगर्न सुझाव दिएको र विवाद उत्कर्षमा पुगेका बेला कोटेश्वर र खुमलटार धाएर विमर्श तथा रिपोर्टिङ गर्नुभन्दा आफ्नो विगत र वरिष्ठताअनुसार पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको पनि थापाले बताएका छन्।
‘मैले डल्लुस्थित घरमा पुगेर पूरै आधा दिन छलफल गर्दै उहिले पार्टी अध्यक्षसँग निरन्तर संवाद बढाउन, चित्त नबुझेका कुरा भेटेर भन्न र पार्टीलाई विभाजन नगर्न सुझाव दिएको थिएँ,’ थापाले लेखेका छन्।
थापाले खनालले ढिलै भए पनि आफ्नो निर्णयलाई ‘महाभूल’ भनेर स्वीकार गरेकोमा धन्यवाद दिदैँ राजनीतिक नेतृत्वको गलत निर्णयको असर समयमै सच्याउन नसक्दा त्यसको क्षति गम्भीर हुने गरेको बताए।
‘राजनीतिक नेतृत्वको ठूलो गल्तीले भयानक ठूलो, मध्यम गल्तीले मध्यमस्तरकै र सानो गल्तीले सानै क्षति पुर्याउँछ,’ थापाले लेखेका छन्, ‘गल्ती भयो भन्ने लाग्दासम्म स्वीकार गर्न त सकिन्छ, तर सच्याउने सामर्थ्य गुमिसकेको हुन्छ। तसर्थ, हरेक कदम सोचविचार गरी चाल्नुपर्छ।’
प्रकाशित: २२ आश्विन २०८३ १३:३५ बिहीबार





