१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कर्मचारीतन्त्रमा सुधार गर्न सुझाव

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको गतिअनुसार कर्मचारीतन्त्रमा सुधार ल्याउन सहयोगका लागि प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले मंगलबार सिंहदबारमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित सबै सांसदसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानबारे छलफल गर्ने क्रममा यस्तो आग्रह गरेका हुन्।

छलफलमा दार्चुलाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका एमालेका गणेश ठगुन्नाले सरकारको गति र भावनाअनुसार अहिलेको कर्मचारीतन्त्रले काम गर्न नसक्ने भन्दै कर्मचारीतन्त्रमा सुधार ल्याउन ध्यानाकर्षण गराएका थिए। उनी पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत हुन्। ‘अहिलेको कर्मचारीतन्त्रबाट सरकारको गतिअनुसारको नतिजा नआउन सक्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ। जवाफमा प्रधानमन्त्रीले कर्मचारीतन्त्रमा सुधार ल्याउन कांग्रेस, एमाले र नेकपाबाट सहयोगको आशा राखेको बताउनुभयो,’ ठगुन्नाले भने, ‘मेरो भनाइ अहिलेको कर्मचारीतन्त्रमा सुधार ल्याउनुपर्छ भन्ने हो। मेरो भनाइलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिनुभएको छ।’

छलफलमा सरकारले राजनीतिक प्रतिशोध राखेर काम गर्न नहुने सुझाव पनि आफूले दिएको एमालेका अर्का सांसद ऐनबहादुर महरले बताए।

छलफलमा सहभागी सांसदका अनुसार प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा विकास निर्माणमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताएका थिए। प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल सुरु गरेका छन्।

छलफल प्रदेश र जिल्लाभित्रका विकासका योजनाबारे केन्द्रित भएको बताइएको छ। ठगुन्नाका अनुसार छलफलमा सेती जलविद्युत् आयोजना, कैलाली–दीपायल सडक, सेती लोकमार्ग लगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा सांसदले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

यसैगरी महाकाली कोरिडोर तथा दार्चुला–टिंकर सडकका बारेमा पनि गम्भीर छलफल भएको र उक्त सडकलाई सरकारले प्राथमिकता दिनुपर्ने सल्लाह आफूले दिएको ठगुन्नाले बताए।

छलफलामा सांसदहरूले उठाएका विषयलाई सम्बोधनको प्रयास गर्ने र समस्याहरू सचिवालयमा टिपाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए। छलफलमा सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित १६ सांसदमध्ये १४ उपस्थित थिए।

सुदूरपश्चिमबाट निर्वाचित दीपक बोहरा र भरत शाह उपस्थिति भएनन। प्रधानमन्त्री शाहले यसअघि सोमबार कोसी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गरेका विभिन्न दलका सांसदसँग छलफल गरेका थिए।

प्रकाशित: १८ चैत्र २०८२ १०:२३ बुधबार