सुदूरपश्चिम प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा नदिएका कारण नेकपा र नेकपा एमाले समीकरणको नयाँ सरकार गठन प्रक्रिया सुरु हुन सकेको छैन। मुख्यमन्त्री शाहले पदबाट राजीनामा नदिँदा नयाँ सरकार गठनको प्रक्रिया नै अन्योल बनेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबिच गत साउन ९ गते भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकार नेकपाको नेतृत्वमा बन्ने छ।
नेकपा एमाले र नेकपा दुई दल मिलेर सरकार गठन गर्नका लागी स्पष्ट बहुमत पुग्ने ५ प्रदेशमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमाले र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने दुई दल बिच सहमति भएको थियो।
सुदूरपश्चिममा गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परिसकेका छन्। अल्पमतमा परे पनि उनले अझै राजीनामा दिने सुरसार गरेका छैनन्।
मुख्यमन्त्री शाहले राजीनामा नदिएकाले सुदूरपश्चिम प्रदेशमा नेकपा र नेकपा एमाले समीकरणको नयाँ सरकारको प्रक्रिया अझै सम्म सुरु हुन सकेको छैन।
उनको राजीनामा पछि मात्र नयाँ सरकार गठनको ढोका खुल्ने छ। नेकपा र नेकपा एमालेका नेताहरूले अल्पमतमा परिसकेकाले मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्।
‘अल्पमतमा परेपछि मार्ग प्रशस्त गरिदिनु पर्छ भनेर हामीले आग्रह गरेका छौँ’नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले भने,‘उहाँले राजीनामा नदिएकाले नयाँ सरकारको गठन प्रक्रिया सुरु हुन सकेको छैन’।
रात रहे अग्राख पलाउँछ भने झैँ मुख्यमन्त्री शाह भने संविधानले दिएको अधिकार प्रयोग गर्दै तुरुन्तै राजीनामा नदिने मनस्थितिमा रहेको बुझिएको छ।
मुख्यमन्त्री शाह तत्काल राजीनामा नदिने उनको सचिवालयका एक सदस्यले बताएका छन्। ‘संविधानले दिएको अधिकार अनुसार मुख्यमन्त्रीले राजीनामा दिनका लागी साउन २८ गते सम्म समय छ,’उनले भने,‘त्यतिबेला सम्म अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने तयारी छ’।नयाँ सत्ता समिकरण गरेका दलहरूका प्रदेशसभा सदस्यमा खेल्ने उनको प्रयास रहेको श्रोतले बताएको छ। सुदूरपश्चिममा तत्कालिन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेकपाका २२ जना प्रदेश सभा सदस्य छन्।
तत्कालीन नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सभा सदस्यले २०७९ माघ २६ गते गठबन्धनमै रहेका बेला नेकपा एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिने दिन अनुपस्थित रहेर उनलाई राजीनामा दिन बाध्य पारेका थिए।
संवैधानिक प्रावधान अनुसार सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिएको एक महिना भित्र प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ। नेकपा एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
नयाँ सरकार गठनको गृहकार्यमा रहेका एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मुख्यमन्त्री शाहको राजीनामा पर्खेर बसेका छन्।
मुख्यमन्त्री शाहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने नेकपाका संसदीय दलका नेता खगराज भट्टले बताएका छन् । शाहको राजीनामा पछि सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने भट्टको प्रबल सम्भावना रहेको छ।
नेकपाले मुख्यमन्त्री शाह अल्पमतमा परेपछि गत असार ३१ गते नै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठकबाट शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।
असार १ गते मध्य राती आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभामा प्रस्तुत गरेको बजेट सत्ता गठबन्धन दलबिचको विवादले पारित हुन नसकेकाले सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ।
‘चालु आर्थिक वर्षका लागी बजेट पनि ल्याउनु पर्नेछ। मुख्यमन्त्री शाहलाई नयाँ सरकार गठनको लागी छिटो मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छौ,’नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले भने,‘उहाँले मार्ग प्रशस्त गरेपछि मात्र दुई दल मिलेर नयाँ सरकारका लागी दाबी पेस गर्ने बाटो खुल्छ’।
५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का एक जना प्रदेश सभा सदस्य छन्।
उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा देशबाहिर रहेका छन्। डडेलधुरा बाट स्वतन्त्रबाट निर्वाचित डा.तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त रहेको छ।
प्रदेश सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ। नेकपा र एमालेसँग अहिले ३२ जना(निलम्बित बाहेक) सांसद रहेकाले सुविधाजनक बहुमत रहेको छ।
सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट पुनर्लेखनको हुनुपर्ने माग राखेको नेकपा एमालेले बजेटमाथि खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि उत्पन्न विवाद उत्कर्षमा पुगेर दुई पार्टीबिचको सत्ता सहकार्य टुटेको थियो।
प्रकाशित: १३ श्रावण २०८३ १८:१४ बुधबार





