२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सफाइ पाउनेमा ढुक्क छन् सुधन, भन्छन्- फेरि गृहमन्त्री बने भने दुई महिना फोटो खिच्न नआउनू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरुङले आफू पुनः गृह प्रशासनको नेतृत्वमा फर्किए सुरुका दुई महिना कसैलाई पनि मन्त्रालयमा तस्बिर खिच्न र बधाई दिन नआउन आग्रह गरेका छन्।

गोरखामा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरेका हुन्।

सांसद गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न मन्त्री पदबाट राजीनामा दिएको सुनाए।

सार्वजनिक पदमा रहँदा उठ्ने हरेक प्रश्नप्रति आफू जिम्मेवार रहेको बताउँदै उनले छानबिन समितिलाई पूर्ण रूपमा सहयोग गरेको जानकारी दिए।

‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ,’ उनले भने, ‘बयानका क्रममा सोधिएका कतिपय कडा प्रश्नहरूको मैले सहज र स्पष्ट जवाफ दिएको छु।’

छानबिनका क्रममा भएको एक रोचक प्रसंग स्मरण गर्दै गुरुङले समितिसँगको ठट्यौली संवादबारे पनि चर्चा गरे। उनले सुनाए, ‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो भनेर प्रश्न गर्‍यो, मैले पनि सहज रूपमा तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त भनेर प्रतिप्रश्न गरिदिएँ।’

हाल छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाइ पाउनेमा उनी विश्वस्त देखिएका छन्।

सफाइ पाएपछि पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना प्रति सङ्केत गर्दै गुरुङले कार्यकर्ता र शुभचिन्तकहरूलाई संयमित रहन आग्रह गरे।

उनले मन्त्रालयमा आएर तस्बिर खिच्ने र बधाई दिने कामले कार्यसम्पादनमा बाधा पुग्ने तर्क गरे। ‘यदि सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, सुरुका दुई महिना कोही पनि बधाई दिन र तस्बिर खिच्न नआइदिनुहोला,’ उनले थपे, ‘मलाई काम गरेर नतिजा देखाउनु छ।’

पार्टीको आन्तरिक सङ्गठनका विषयमा बोल्दै सांसद गुरुङले जिल्ला नेतृत्व राजधानी केन्द्रित हुन नहुने धारणा राखे। अब चयन हुने जिल्ला सभापतिहरू जिल्लामै बसेर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

‘राजधानीमा बसेर जिल्लाको सभापति बन्ने परिपाटीले पार्टीलाई फाइदा गर्दैन, यसो गर्दा चुनावका बेला मात्र जनतामाझ पुगिन्छ,’ उनले बताए।

सांसद गुरुङले आफू गृहमन्त्री रहँदा आम जनताबाट प्राप्त अभूतपूर्व साथ र सहयोगको स्मरण समेत गरे। उनले आफूलाई निर्वाचनमा विजयी गराउने गोरखाका सम्पूर्ण मतदाताहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाए।

रास्वपाको सङ्गठन सुदृढीकरणका लागि जिल्ला अधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो।

प्रकाशित: २४ जेष्ठ २०८३ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App