२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

पत्रकारिता क्षेत्र सुदृढ बनाउन बलियो कानुन आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन समयानुकूल र प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।  

बुधबार अनलाइन पत्रकार सङ्घसँग मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले विभिन्न क्षेत्रका कानुन निर्माणको प्रक्रिया अघि बढाइरहेको उल्लेख गर्दै त्यसक्रममा सरोकारवाला निकायका सुझावलाई प्राथमिकताका साथ समेटिने बताए।

उनका अनुसार आमसञ्चार विधेयकमाथिको छलफल मन्त्रालयले सुरु गरिसकेको छ र आवश्यक परामर्शपछि मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको छ। त्यस्तै, मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पनि सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढाइने उनले जानकारी दिए।

डिजिटल सञ्चारमाध्यमको प्रयोग तीव्र रूपमा बढिरहेका बेला त्यसअनुकूल कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालसम्बन्धी कानुनी प्रावधान पनि समयानुकूल बनाउनुपर्ने बताए। उनले गलत सूचना (मिसइन्फर्मेसन), भ्रामक सूचना (डिसइन्फर्मेसन) तथा घृणात्मक अभिव्यक्ति (हेट स्पिच) जस्ता प्रवृत्ति नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यले नभई थप जिम्मेवार, सुदृढ र विश्वसनीय बनाउने उद्देश्यले नीति तथा कानुन निर्माण गर्न लागेको स्पष्ट पार्नुभयो। पत्रकारिता क्षेत्र बलियो भए मात्र सरकारले प्रभावकारी रूपमा जवाफदेही हुनुपर्ने वातावरण निर्माण हुने उल्लेख गर्दै उनले पत्रकारितामाथि हस्तक्षेप गर्ने कुनै नीति सरकारको नरहेको बताए।

त्यस्तै, पर्याप्त छलफल नगरी कुनै पनि कठोर नीति नल्याइने स्पष्ट पार्दै उनले पत्रकारिता क्षेत्रलाई थप सुदृढ बनाउन सकिने उपायबारे विस्तृत सुझाव दिन अनलाइन पत्रकार सङ्घलाई आग्रह गरे।

छलफलका क्रममा अनलाइन पत्रकार सङ्घका पदाधिकारीहरूले प्रसारण तथा पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि समान रूपमा उपलब्ध गराउनुपर्ने माग गरेका थिए। सञ्चारमाध्यमको प्रकृति फरक भएकै आधारमा विभेद गर्न नहुने उनीहरूको भनाइ थियो।

सङ्घले पत्रकारको क्षमता विकास, डिजिटल साक्षरता अभिवृद्धि तथा डिजिटल पत्रकारितासम्बन्धी कानुनी व्यवस्था तयार गर्दा पर्याप्त अध्ययन र गृहकार्य गर्न सरकारलाई सुझाव दिएको छ।

छलफलमा सञ्चार क्षेत्रको नीतिगत सुधार, डिजिटल सञ्चारमाध्यमको व्यवस्थापन, पत्रकारितामा देखिएका विकृति न्यूनीकरण तथा जिम्मेवार सञ्चार प्रणाली निर्माणका विषयमा समेत विचारविमर्श भएको थियो।

प्रकाशित: ६ श्रावण २०८३ १९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App