पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आलोचना स्विकार्ने संस्कारको सट्टा स्टालिन शैलीको ‘राजनीतिक सफाया’ गर्ने परिपाटी नेतृत्व तहमा रहेको बताएका छन्। जसरी स्टालिनले लेनिनकालीन आफ्ना सबै प्रतिद्वन्द्वीहरूलाई एकपछि अर्को गरी पाखा लगाएका थिए, त्यसकै झल्को दिनेगरी नेपालका कम्युनिस्ट नेताहरू पनि आलोचकलाई पार्टी र सत्ता दुवैबाट हटाउँदै गएको उनले बताए।
स्टालिनकै झल्को आउने गरी अहिले नेपालका ’कम्युनिस्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र साङ्गठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछिआफ्नै पालो आउँदा एक्लै आँसु झार्नेसाथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि?
उनले ‘हामी इतिहासबाट यो सिक्छौँ कि हामी इतिहासबाट केही सिक्दैनौँ’ भन्ने चर्चित ग्रीक भनाई नेपाली कम्युनिस्ट आन्दोलनमा जस्ताको तस्तै लागू हुने बताएका छन्। उनले २०२८–३१ को झापा विद्रोह र २०५२–०६२ को जनयुद्धको बलमा उभिएको यो आन्दोलन सोभियत रुसको ब्रेजनेभ युगको गतिहीनतासँग तुलना गर्न लायक बन्दै गएको बताएका छन्। झापा विद्रोहको ऊर्जा र जनयुद्धको बलिदानी आज स्थायित्व र रूपान्तरणको साटो कुर्सी र गुटको गोलबन्दीमा विलीन भएको उनको आरोप छ।
प्रकाशित: १६ श्रावण २०८२ १०:०० शुक्रबार





