१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसदमा प्रचण्डको सम्बोधन दुर्गन्धित र पूर्वाग्रही: बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्ति सरकारबाट बाहिरिनुको पीडा, कुण्ठा र आक्रोशको उपज भएको टिप्पणी गरेका छन्।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले विपक्षी दलको नेताले खेल्नुपर्ने रचनात्मक भूमिकाभन्दा बाहिर गएर प्रणालीमाथि नै अविश्वास पैदा गर्ने गरी बोल्नु दुःखद भएको बताए।

‘संसदमा विपक्षी दलको नेताको प्रस्तुति रचनात्मक र सिङ्गो सदनलाई ऊर्जा दिने खालको हुनुपर्नेमा अध्यक्ष प्रचण्डको अभिव्यक्ति पूर्वाग्रहले प्रेरित र दुर्गन्धित देखियो,’ बर्तौलाले भने, ‘सरकारबाट बाहिर हट्दाको पीडाबोध आज पनि उहाँमा देखियो। यो दुःखद र अशोभनीय कुरा हो।’

अध्यक्ष दाहालले आफूलाई मन नपर्ने सबैलाई बिचौलिया र दलालको संज्ञा दिएको र राज्यका सबै अंगप्रति चरम अविश्वास जाहेर गरेको भन्दै बर्तौलाले आपत्ति जनाए।

उनले भने, ‘प्रमुख प्रतिपक्षीले सरकारलाई सुझाव दिने हो, तर प्रणाली र व्यवस्थाविरुद्ध नै ढुंगा हान्ने प्रवृत्ति देखाउनु गलत हो। सरकारले शान्ति प्रक्रिया टुंग्याउन ल्याएको टीआरसी विधेयकजस्ता सकारात्मक कामको प्रशंसा गर्नुपर्नेमा उहाँ त्यसतर्फ लाग्नुभएन।’

बर्तौलाले गठबन्धन सरकारको गति एकल सरकारको जस्तो नहुने स्वीकार्दै अब सरकारले आफ्नो ‘गियर’ बदलेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३० असार २०८२ १९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App